७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

चाँगुनारायणमा घरबास पर्यटन शुरु



MadhabNarayn, Changunarayn

प्राकृतिक सौन्दर्यता, सांस्कृतिक धरोहर, मनोरम छटा, चाँगुनारायणको थुम्कोबाट पूर्वमा देखिने नगरकोटको हरियो जङ्गल, उत्तरमा देखिने हरिया फाँटमा छरपष्ट देखिने काठमाडौँका शङ्खरापुर नगरपालिकाको साँखु, इन्द्रायणी, बज्रयोगिनी, साना गाउँ, फुयाँल गाउँ, आलापोटलगायत ग्रामीण क्षेत्रका सुन्दर बस्ती । उत्तरपट्टि टुप्पामा लहरै हाँसेको हिमाल, पश्चिममा मनोहरा फाँटमा झुल्दै गरेका हरिया धानका बोट, अग्ला गगनचम्बी भवनले भरिएको काठमाडौँं शहर र दक्षिणतर्फ भक्तपुर बजार, सूर्यविनायकदेखि फूलचोकीसम्मका हरिया पहाड । पर्यटकीय दृष्टिकोणले आकर्षक मानिने चाँगुनारायणबाट देखिने दृश्य हुन् । चाँगुनारायणको थुम्कोमा रात्रिकालीन पर्यटनलाई समेत आकर्षक गर्न चाँगुनारायण नगरपालिका–४ चाँगुमा सामुदायिक घरबास सञ्चालन गरिने भएको छ ।

विसं २०७२ अगाडि केही घरमा सञ्चालनमा रहेका घरबास विनाशकारी भूकम्पपछि बन्द भए । घरबास सञ्चालनमा रहेका घर भूकम्पले भत्किएर समस्या आएपछि बन्द भए । चाँगुनारायणमा पर्यटकीय आकर्षणको रुपमा विस्तार गर्न नगरपालिकाको आर्थिक सहयोगमा पुनः घरबास पर्यटन शुरु हुने भएको हो ।

कोभिड–१९ को महामारी शुरु भएपछि सङ्कटमा परेको पर्यटन व्यवसायलाई पुनःसञ्चालन गर्दै ग्रामीण क्षेत्रका बासिन्दालई पर्यटनसँगै जोड्दै आर्थिक अवस्था उकास्ने उद्देश्यले नगरपालिकाले घरबास सञ्चालनमा सहयोगसमेत गर्ने भएको छ ।
नगर प्रमुख सोमप्रसाद मिश्रले यदि घरबास सञ्चालन गर्न समस्या भए सहयोग गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “पैसा नभएर काम रोकिदैंँन, घरबास सञ्चालन गर्न इमान्दार भएर काम शुरु गरे सहुलियत पूर्ण ब्याजमा नगरपालिकाले ऋण उपलब्ध गराउन मद्दत गर्नेछ, घरबास शुरु गर्न म नगरवासीमा आग्रह गर्दछु ।”

भक्तपुर आउने पर्यटकमध्ये केही प्रतिशतलाई मात्र नगरकोट र चाँगुनारायणक्षेत्रमा आर्कषित गर्न सके स्थानीयस्तरमा परिर्वतन हुने उल्लेख गर्दै उहाँले स्थानीय भाषा, कला संस्कृतिको संरक्षण गर्दै मौलिक खाना पाहुनालाई एकरात राखेर सांस्कृतिक पहिचान देखाउँदै घरबास सञ्चालन गर्नसके झनै लोकप्रिय हुने नगरप्रमुख मिश्रले बताउनुभयो ।

चाँगुनारायण नगरक्षेत्रका जङ्गलमा दुर्लभ वन्यजन्तु, चराचुरुङी रहेको, झरना, पोखरी र सिमसार क्षेत्रको अवलोकन गर्दै पर्यटक रमाउन सक्ने प्रशस्त ठाउँ रहेको जनाउँदै उहाँले नगरपालिकाको लगानीमा यस्ता ठाउँको पहिचान गर्न पर्यटकीय गन्तव्य बनाउन विभिन्न संरचना निर्माणमा नगरपालिका जुटेको बताउनुभयो । नगरपालिकाका उपप्रमुख बिना बाँस्तोलाले आर्थिक सम्बृद्धि र विकासको लागि पर्यापर्यटन निकै महत्वपूर्ण हुने भन्दै घरबास पर्यटनबाट यहाँको पर्यटन एवं आर्थिक विकासमा टेवा पु¥याउन नगरपालिका तयार रहेको बताउनुभयो ।

वडा नं ४ का वडाध्यक्ष बुद्धिलाल महर्जनले चाँगुनारायण क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नगरपालिकाले यहाँका सम्पदादेखि मौलिक संस्कृतिको विकासमा लगानी गर्न थालिएको बताउनुभयो ।

यसका लागि नगरपालिकाले चाँगुनारायण मन्दिर जान १००० सिँढी निर्माण, नारायणधारा सिँढी निर्माण, चारहाते भीमसेन सिँढी निर्माण, बसपार्कको सिन्हुख्वाः पोखरीको जीर्णोद्धार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर परिसरमा चौघेरा सत्तल निर्माण भइरहेको, नारायण मन्दिर, छिन्नमस्ता मन्दिर, किलेश्वर मन्दिर निर्माण भइसकेको र अरु पनि निर्माण भइरहेको छ ।

वडाध्यक्ष महर्जनले भन्नुभयो, “रु एक करोडमा बसपार्क निर्माण सम्पन्न गर्दैछौ, साँखुबाट चाँगुनारायणहँुदै भक्तपुर जाने सडक निर्माण सम्पन्न हुने चरणमा छ, मूलपानी चाँगु नगरकोट सडक निर्माण शुरु गरिएको छ, चाँगुनारायण दृश्यावलोकन परिक्रमा मार्ग निर्माण गरिएको छ, पर्यटकलाई एक रात चाँगुमा बस्ने गरी पर्यटनको विकासमा लागेका छौँ ।”

चाँगुमा घरवास सञ्चालनका लागि दर्ता गर्ने क्रम शुरु भएको छ । पछिल्लो समय केही होटल निर्माण भए पनि कोरोनाका कारण सञ्चालन हुन सकेका छैनन् । अब टोल–टोलमै घरबास पनि शुरु गर्ने योजना छ । चाँगुनारायण मन्दिर अवलोकनका लागि विगतमा यहाँ दैनिक ५० देखि २०० सम्म पर्यटक आउने गरेपनि रात बसेर यहाँका प्राकिृतिक सौन्दर्यता र संस्कृतिमा रमाउन भने सकेका थिएनन् ।

जनजाती, नेवार, तामाङ्, गुरुङ क्षेत्री सबै मिलेर बसेको यहाँ फरक जाती, भाषा, धर्म, संस्कृतिको पहिचानलाई उजागर गर्दै पर्यटकलाई लोभ्याउने कार्यक्रम घरबासमा सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । घरबास प्रवद्र्धनका लागि नगरपालिकाले रु दुई लाख खर्चिएर यहाँका २० स्थानीयवासीलाई घरबास तालीम समेत दिएको छ ।


प्रतिक्रिया दिनुहोस !