१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

आन्तरिक उडानको सीमा हट्यो, अन्तराष्ट्रिय उडान थपिए



काठमाडौं । सरकारले आजदेखि आन्तरिक उडानको गन्तब्य सीमा हटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अब आन्तरिक उडानमा वायुसेवा कम्पनीले आवश्यक संख्यामा उडान गर्न सक्नेछन् ।

देशभर बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध भएको समयमा वायुसेवा कम्पनीले उडान संख्या थप हुनुपर्ने माग गरेका थिए । यसअघि ५० प्रतिशत भनि उडान सीमा तोकिएको थियो ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले दैनिक यति नै संख्यामा उडान गर्ने भनि संख्या नतोकि चाहिने जति संख्या थप गर्न सक्ने अधिकार वायुसेवा कम्पनीलाई दिएको बताए । उडान अनुमति माग्दा तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नुपर्ने छ । सरकारले १ जुलाईबाट उडान खोल्ने निर्णय गरेपनि ५० प्रतिशत मात्र उडान गर्न दिएको थियो ।

त्यसैगरी सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान संख्या थप गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि उडान खुला गरेका गन्तब्यमा भारतबाहेकका मुलुकमा हुने उडान संख्या थप भएको जनाएको छ ।

नयाँ निर्णयअनुसार अब सातामा कुल ५३ वटा उडान हुने छन् । यसअघि सातामा दुई दर्जन मात्र उडान गर्ने गरी विभिन्न मुलुकमा उडान तालिका तय भएको थियो ।

भारतको राजधानी नयाँ दिल्लीमा सातामा दुई उडान मात्र हुने प्राधिकरणले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यसमध्ये एउटा उडान नेपाल एयरलाइन्स (बुधबार) र अर्को उडान एयर इण्डियाले (सोमबार) गर्नेछन् ।

यूएईको दुबईमा नेपाल एयरलाइन्सले मंगलबार र बिहीबार, हिमालय एयरलाइन्सले आइतबार, मंगलबार र बिहीबार तथा फ्लाइ दुबइले आइतबार, बुधबार र शुक्रबार एक, एक उडान गर्ने भएका छन् ।

कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन एकरएक उडान गरि साताको सातै दिन जहाज उडाउने अनुमति पाएका छन् । दोहामा हिमालय एयरलाइन्सले सोमबार, बुधबार र शनिबार जहाज उडाउने छ ।

साउदी अरेबियाको दमाममा हिमालय एयरलाइन्सले आइतबार, सोमबार, बुधबार र शुक्रबार गरि साताको चार उडान गर्ने अनुमति पाएको छ । मलेसियाको क्वालालाम्पुरमा नेपाल एयरलाइन्सले बुधबार र शनिबार गरि सातामा दुई उडान गर्नेछ ।

त्यस्तै हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार क्वालालाम्पुर उडानको अनुमति पाएको छ । टर्किस एयरलाइन्सले टर्कीको इस्तानवुलमा सोमबार, बिहीबार र शनिबार जहाज उडाउने छ ।

जजिरा एयरवेजले कुवेतमा सोमबार, मंगलबार, बुधबार, बिहीबार र शनिबार गरि कुल पाँच उडान गर्नेछ । सलाम एयरले ओमानको मस्कटमा सोमबार, बुधबार र शनिबार गरी कुल तीन उडान गर्ने गरि अनुमति पाएको छ ।

एयर अरेबियाले आबुधाबीमा आइतबार र मंगलबारको उडान तालिका पाएको छ । सिंगापुर एयरको जहाज हरेक आइतबार काठमाडौं आउने सूचीमा उल्लेख छ । सरकारले अहिले हवाई उडान खुला गरेका गन्तब्यमा थप उडान आवश्यक भए त्यसको निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय