७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

चीनले बनायो मानवरहित गोप्य पनडुब्बी, आक्रमण गरेर आफै लुक्ने मुख्य विशेषता



एजेन्सी : चीनले अब शत्रु मुलुकहरूको पनडुब्बी र जहाजमा आफ्नो गोप्य मानवरहित पनडुब्बीबाट आक्रमण गर्न सक्ने भएको छ । विगत ३० वर्षदेखि गोप्य मानवरहित ड्रोन पनडुब्बी बनाइरहेको चीनले जवानहरूको ज्यान जोखिममा नपारिकनै दुश्मनलाई आक्रमण गर्न सक्ने भएको छ । ताइवानमा मानवरहित अन्डरवाटर भेहिकलको परीक्षण चीनले गरेपछि यसको खुलासा भएको हो ।

ताइवानले चाहिँ उक्त परीक्षणपछि आफूमाथि आक्रमण हुन लागेको हो कि भनी आशंका गरेको थियो । चीनले यो गोप्य पनडुब्बीको विषयमा किन अहिले खुलासा गरेको होला ताइवानलाई मुख्यभूमिमा मिसाउने चीनको कोशिशलाई अमेरिका र जापानले रोक्ने भनिरहेको बेलामा आफ्नो शक्तिप्रदर्शन गर्न चीनले खोजेको यसबाट अनुमान गर्न सकिन्छ । चीनको सबभन्दा ठूलो पनडुब्बी अनुसन्धान संस्था हार्बिन इन्जिनीयरिङ विश्वविद्यालयका प्राध्यापक लियाङ क्वोलोङले गोप्य ड्रोन पनडुब्बीका लागि चिनियाँ जनमुक्ति सेनाबाट फन्ड उपलब्ध भइरहेको बताए । अहिले यो ड्रोनले एक्लै काम गर्ने तर यस प्रविधिलाई अत्याधुनिक बनाएर समूहहरूमा सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

यी ड्रोन पनडुब्बीहरूलाई समुद्रभित्र चुपचाप छोड्न सकिने उनले बताए । आवश्यक पर्दा तिनीहरूलाई आक्रमणका लागि सक्रिय बनाउन सकिन्छ । अर्थात्, शत्रुका जहाज र पनडुब्बीहरूलाई मुनिपट्टि शान्त आक्रमणकारी रोबोटिक पनडुब्बी छ भन्ने नै थाहा हुँदैन । त्यस गोप्य पनडुब्बीले जुनसुकै बेलामा आक्रमण गरिदिन सक्छ । भविष्यमा समुद्रभित्र हुने लडाइँमा ड्रोन सबमरिन र मानवरहित यानको अत्यधिक उपयोग हुने प्राध्यापक लियाङको भनाइ छ । यस पनडुब्बीको चुपचाप आक्रमण गर्ने र पुनः लुक्ने क्षमता छ । मानिसहरू नभएकाले यसको आकार सानो छ । यसलाई रिमोट सेन्टरबाट नियन्त्रण गर्न सकिन्छ । अमेरिकाको ड्रोन विमान जस्तै प्रविधि यसमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस !