
नेपालले चीनसँग खरिद गरेको खोप शुक्रबार नेपाल आइपुगेको छ।पहिलो चरणमा कोभिडविरुद्धको ८ लाख डोज खोप आइपुगेको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले जनाएको छ।बिहीबार चीन गएको वायुसेवा निगमको जहाजले शुक्रबार बिहान खोप नेपाल ल्याइपु¥याएको हो।चीनसँग नेपालले ४० लाख डोज खोप ल्याउन सम्झौता गरेको छ ।जहाजमा खोप भण्डारण क्षमता ८ लाख डोजमात्रै भएकाले त्यति नै ल्याइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए।‘खोप भण्डारणका लागि आपूर्ति महाशाखामा क्षमता छ।जहाजमै नअटेर आठ लाख डोजमात्र ल्याएका हौं’, उनले भने।थप खोप लिन जहाज शुक्रबारै चीनतर्फ उडिसकेको छ ।
आइपुगेको खोपमध्ये केही शुक्रबार नै गण्डकी प्रदेश र हेटौंडामा पठाइएको स्वास्थ्य सेवा आपूर्ति महाशाखाले जनाएको छ।अन्य प्रदेशमा पनि खोप पठाउने तयारी भइरहेको जनाइएको छ।खोप कुन मितिमा लगाउने भन्ने निर्णय हुन बाँकी रहेको र राष्ट्रिय खोप योजनाअनुसार कार्यान्वयन गर्ने परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए।उनका अनुसार यसअघि खोप लगाउन बाँकी ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई पहिले खोप दिइनेछ।त्यसपछि अन्य उमेर समूहलाई प्राथमिकताअनुसार दिइने डा. गौतमले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले विभिन्न देशबाट खोप आउने सम्भावना रहेको भन्दै खोप अभियान जारी रहने बताए।‘हामीले खोजी खोजी खोप लगाउँछौं, खोप आउँछ’, उनले भने।कुन देशवाट कति खोप आउने, यो भने श्रेष्ठले खुलाउन चाहेनन्।स्रोतका अनुसार अमेरिका र जापानले कोभ्याक्सअन्तर्गतको खोप दिने भएका छन्।यसअन्तर्गत अमेरिकाबाट १५ लाख ३५ हजार र जापानबाट ३ लाखभन्दा बढी खोप आउने मन्त्रालय स्रोतले जनाएको छ।नेपालमा हालसम्म १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्डको पहिलो मात्रा खोप लिएका छन् भने ४ लाख ६० हजार ७ सय ३९ जनाले दोस्रो मात्रा पनि लिएका छिन्।त्यसैगरी भेरोसेलको खोप ७ लाख ८३ हजार ३ सय २३ जनाले पहिलो मात्रा लगाएका छन् भने २ लाख ९९ हजार २ सय २० जनाले दोस्रो मात्रा पनि लगाइसकेका छन् ।
संक्रमणदर १९.७ प्रतिशत
नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणदर १९.७ प्रतिशत रहेको छ।एन्टिजेन र आरटिपिसिआर विधिबाट परीक्षण गरिएका ११ हजार ३ सय १६ नमुनामध्येमा २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।थप संक्रमितसहित नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९५ हजार ८८ पुगेको छ।तीमध्ये ४ लाख ३८ हजार ८८ जना दोस्रो लहर अवधिमा संक्रमित भएका हुन् ।
गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० छ।यीसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३ सय ४० पुगेको छ।तीमध्ये दोस्रो लहरको अवधिमा ६ हजार ८१ जनाले ज्यान गुमाएका छन्।गत २४ घण्टामा निको हुनेको संख्या १ हजार ३ सय १६ छ।२३ हजार ९ सय २० जनाको होम आइसोलेसनमा उपचार भइरहेको छ । तीमध्ये ५ सय ३९ जनाको आइसियुमा र १ सय ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।