६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

घ्याम्पे घटना : सामाजिक विश्लेषण



डा. बिपी बडाल-

“दुई पुरुष र एक महिला, सरकारी सबारीसाधन भित्र अनैतिक क्रियाकलाप गर्दैगर्दा  रंगेहात पक्राउ” भन्ने समाचारले मेरो पनि मन तान्यो ।  हुन पनि,  यौन वासना हो, सुन्दर फुलको सुवास हो । फुलको सुगन्ध मन परे झैँ सबैलाई मन पर्छ नै भन्न त नसकिएला तर  यौन हरेक घरमा हुन्छ । के यौन नहुने घर हुन्छ र ? यौन नजान्ने नबुझ्ने कोहि हुन्छ र ? हुनै सक्दैन । तर, हाम्रा सामाजिक, मान्यता, मनोविज्ञान र  नियम कानुन  यौनको प्राकृतिक धर्म भन्दा विपरित छन । इन्द्रको राज्य अमरावती झैं  खुल्ला स्वतन्त्रता नेपालमा आउन अझै दशौं बर्ष लाग्न सक्छ । स्वतन्त्रता भन्दै  के यौन छाडा छोड्नु पर्छ त ?

यस सम्बन्धमा चर्चा गर्न मदनमणि दीक्षितद्वारा लिखित ‘माधवी’ र बीपी कोइरालाको ‘मोदीआइन’ उपन्यास प्रमुख छन्  । ‘माधवी’मा महाभारतमा राजनीतिक, आर्थिक र सामाजिक गतिविधिमा नारीको अवस्थाबारेमा र ‘मोदीआइन’मा महाभारत युद्धमा नारीहरूको अवस्थाको गहन व्याख्या गरिएको छ । लक्ष्मी प्रशाद देवकोटा, पारिजात, तथा  देवाशुर संग्रामका लेखक मोदनाथ प्रश्रित  अर्थात् उत्तरपन्थी-दक्षिणपन्थी दुवै धार यसको मामिलामा खुल्ला नै देखिन्छ । खासमा भन्नु पर्दा  महाभारतकाल देखिका सबै साहित्यले महाभारतको कथाको यौनिक प्रस्तुति अनुसरण गरेकै देखिन्छ । यसैगरि वर्तमान युगमा विष्णुप्रसाद धितालको ‘योजनगन्धा’ (२०५२), कृष्ण धरावासीको ‘राधा’ (२०६३) र नीलम कार्की निहारिकाको ‘चीरहरण’ (२०७२) निकै प्रशिद्ध छन् । महाभारतकि प्रमुख पात्र कौरब र पाण्डवकि कुप्री हजुरआमा राजा संतनुकि महारानी, व्यास ऋषिकि आमा मत्स्यगन्धा अर्थात्   सत्यवतीको महिलावादी आचरण र क्रियाकलाप योजनगंधामा स्पस्ट हुन्छ । राधा र चीरहरण पनि मनोबैज्ञानिक रुपले नारी स्वतन्त्रता कै पक्षमा देखिन्छन ।  हाम्रा वैदिक परम्परा स्वतन्त्र र स्वेच्छिक छन् । यौनमा हाम्रा शास्त्र निकै उदार छन् भने व्यवहारमा हामी निकै संकीर्ण छौं । हामी पौराणिककाल देखि हाल सम्म पनि यस्तै उदारता र संकीर्णताको  द्वन्दमा छौं । नियम स्वतन्त्र छ भने विचार परतन्त्र छ । मन्दिरका टुंडालमा यौन आकृति राखेर सबै ३३ कोटी देवताका ३३ कोटी यौन कथा सुनेको हाम्रो समाज व्यवहारमा भने अझै बोल्न सकेको छैन । जसले गर्दा चाहना दवाएर राख्न वाध्य छ हाम्रो समाज । यो दबिएको चाहना उत्कर्षमा पुग्दा दुर्घटना हुन्छ ।

१३ बर्षको उमेरदेखि मानवको हार्मोन विकास हुन थाल्दछ । अध्ययन गर्दा उसको उमेर २५ बर्ष अनि क्यारियर बनाउन ५ बर्ष गर्दा  लगभग ३० बर्षमा उसको बिबाह हुन्छ । १३ देखि ३० बर्ष सम्म मान्छे चुपचाप ब्रह्मचारी नै भएर बस्छ त ? नेपालमा बिबाह बाहिरको सम्बन्धलाई अनैतिक मानिन्छ । तर खुल्ला समाज, इन्टरनेट, सोसियल मिडिया र मोबाइल फोनको विकासले संसारका ७० प्रतिशत युवाको हातमा पोर्नको सुबिधाले गर्दा शारीरिक सम्बन्ध सामान्य हुन थालेका छन् । नेपाल सरकारले धेरै चोटी पोर्न ब्याण्ड गर्दा पनि यसमा सफल हुन सकेको छैन र सम्भव छैन पनि । यस्तो अवस्थामा आफ्ना चाहना दबाएर बस्न बाध्य छ मानव ! जसले गर्दा धेरै दुर्घटना घटेका छन् ।

हरेक व्यक्तिको जीवनमा एउटा यस्तो उमेरको यस्तो एउटा क्षण (२० देखि ३० बर्षको रेन्जमा) आउँछ त्यतिवेला उसको खालि दिमागले यौन मात्रै सोच्ने गर्दछ । यो सब भन्दा डरलाग्दो समय हो । मान्छेले होस् गुमाउने समय पनि यहि हो । अत्याधिक मात्रामा उत्पन्न हार्मोनले आफ्नो बाटो खोज्दछ र त्यो बाटो अनैतिक हुने हुनाले धेरै दुर्घटना हुने गरेका छन् । हुन त २१औं शताब्दीमा समाज निकै शिक्षित् भै सकेको पनि छ । यसको बारेमा खुल्ला छलफल हुन थालेको छ । टिकटकमा राम्रा-राम्रा निकै ज्ञानबर्धक सामग्रीहरु हेर्न र सुन्न पाइन्छ तर यसको प्रयोग चैं गलत भै रहेको छ । हार्मोन उत्सर्जनको क्रममा यौनिकता अन्जान मै प्रस्तुत हुन्छ । यौनिकताको प्रदर्शन भनेको विपरित लिंगीलाई आकर्षण गर्नु मात्र हो । यो स्वाभाविक हो तर यो आकर्षणलाई व्यवस्थापन गर्ने तरिका के हो ? छोटो बस्त्र त लगाउने ल,  तर यसबाट शृजना हुनसक्ने खतराबाट सुरक्षित् रहने उपायहरु पनि सोच्नु पर्दछ । हाम्रो समाजमा बस्त्र र मानव अधिकारको धेरै चर्चा हुने गरेको छ तर व्यवस्थापन पक्ष भने पूर्णमौन छ ।

बुद्धले प्रेम नै अन्तिम सत्य भन्नु भयो । राधाकृष्णको राशलिलाको पनि अर्थ प्रेम नै हो । प्रेम नै सत्मार्ग हो । रजनीशले त प्रेमलाई स्वाभाविक रुपमा लिनुहुन्छ । शिव-शक्ति, बिष्णु-लक्ष्मी, ब्रह्मा-सरस्वतीको प्रेम नै अलौकिक दैविक प्रेम भन्ने गरेका छौं । युरोप अमेरिका तिर त् इन्सेस्ट सेक्स नै सामान्य मानिन्छ । तर हाम्रो समाजमा यसलाई विकृति भनिन्छ र छलफल समेत हुँदैन । भोक, तिर्खा, निद्रा र यौन समान मानवीय आवस्यकता हुन् । भोक, तिर्खा, निन्द्राको सम्बन्धमा धेरै चर्चा हुन्छ तर यौन गोप्य हुन्छ । गुरु राजा धनी र शक्तिशालिले गरे हुने गरिबले गरे नहुने पौराणिक  दास मानसिकता अन्त्य हुनु पर्दछ । यौनको मामिलामा हाम्रो समाज हिप्पोक्रीटिक छ, अस्पष्ट छ, क्रुर पनि छ ।

बालाजु देखि भक्तपुर सम्म, ठमेल देखि गोदावरी सम्म, धुलिखेल, नगरकोट लगाएत सम्पूर्ण काँठ क्षेत्रमा खुलेका होटेल तथा रिसोर्टका प्रमुख ग्राहक भनेका हाम्रै लुकेको समाजका प्रतिनिधि पात्र हुन् । ति ग्राहक हाम्रै प्रतिनिधि हुन् अर्थात् ति हामी नै हौँ तर बोल्न सक्दैनौ । ति होटलहरु किन संचालन गर्न दिई रहेका छौं ? हाम्रो सरकार, पुलिस प्रसासन, खुद हामी यसको सहि जवाफ दिन चाहंदैनौ । अब हामी स्पस्ट हुनु पर्ने समय आइसकेको छ । यौनलाई सामान्यीकरण गर्न ढिला गर्नु हुँदैन ।

कृषि र उद्योगबाट, चिन र भारतसंग नेपालले प्रतिष्पर्धा गर्नै सकेन वा सक्दैन, जसले गर्दा हाम्रो आर्थिक विकास क्रान्तिकारी हुनै सकेन र सक्दैन पनि  । अबको विकल्प भनेको पर्यटन व्यावसाय हो । भारतीय किसान र चिनिया उद्योगपतिहरुको होलिडे हब नै अबको नेपाल हुनु पर्दछ । सगरमाथा, लुम्बिनी, र पशुपतिनाथलाई विश्वले छुटाउनै नहुने सम्पदा हामीसंग छन् । नेपालको ठुलो सम्भावना भएको क्षेत्र भनेको पर्यटन नै हो । पर्यटकलाई आतिथि देवोभब: भन्ने नेपाली समाज अब पर्यटन मैत्री हुनै पर्दछ । एक रातको साथी खोज्ने पर्यटकहरु धेरै हुन्छन र यस्तो काम हुने पनि गरेको छ, तर कुनै बैधानिक मार्ग छैन । हामी जे गर्छौं त्यो बोल्दैनौ जे बोल्छौँ त्यो गर्दैनौं ।

एउटा अनौपचारिक छलफलमा अपांगता सम्बन्धि काम गर्ने एकजना जिम्मेवर प्रतिनिधिले भनेका थिए । अपांगता भएका व्यक्तिको यौन आवस्यकता व्यवस्थापन गर्न नसकेर थप मनोबैज्ञानिक समस्या पनि खेप्नु परेको रहेछ । हिप्पोक्रेसी पाल्नु आवस्यक छैन । यो धर्म संस्कृतिको विरोधमा पनि छैन ।  प्रहरीलाई पनि आरोप छ पैशा दिने, ठुला महंगा होटेल सुरक्षित् हुन्छन भने कमसल होटेलमा छापा मारिन्छ भन्ने । आजकाल प्रहरी सेवा पनि जनमैत्री भएको देखिन्छ तर अब कानुनि रुपले नै यस्ता व्यवसाय गर्न छुट दिने वकालत गर्नु अपरिहार्य छ । सुर्यविनायक नजिकैको सुन्दर जंगल घ्याम्पे डाँडामा भएको घटना युद्ध होइन । यौन हो र प्रेम हो । शैद्धान्तिक रुपमा हामी कसैको पनि विमति छैन तर व्यवहारमा हामी ज्यादै संकीर्ण छौं । यो संकीर्णता त्यागौं ।

यौन दाल भात जस्तै सामान्य हो ! यति बुझे पुग्छ !

धन्यबाद !!!


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय