१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

बजेट खर्च नभएर फीज हुने भएपछि मदिराभोज पार्टी गरेर बजेट सक्दै नापी कार्यालय लहानका कर्मचारी (फोटोसहित)



लहान- सिराहाको लहानमा रहेको नापी कार्यालयभित्रै कार्यालय प्रमुखले मदिरा पार्टी दिएका छन् । नापी कार्यालय लहानका कार्यालय प्रमुख सञ्जय सिंहसहित अन्य कर्मचारीहरूले कार्यालयभित्रै मदिरा पार्टी गरेका हुन् ।  कार्यालयका कर्मचारीहरूले बजेट सक्न भोजभतेर गरेको कार्यालय प्रमुख संजय सिंह र अन्य कर्मचारीहरूले कार्यालयभित्रै मदिरासहितको पार्टी आयोजना गरेको तस्विरहरु सार्वजनिक भएको हो ।

‘असार मसान्तको अन्तिम भन्दै पार्टी (भोजभतेर) गरेको’ भनेर केही कर्मचारीले फेसबुकमा रक्सी र मासु खाँदै गरेको तस्विरहरू सार्वजनिक गरेका छन् । शनिबार बिदाको मौका पारेर नापी कार्यालयमा मदिरा पार्टीको आयोजना गरिएको हो ।

कार्यालय प्रमुख सिंहको बिदाइ कार्यक्रम समेत रहेकोले कार्यालयभित्रै मदिरा पार्टी आयोजना गरिएको थियो । कार्यालयमा कार्यरत् कर्मचारी सरोजकुमार मण्डलले कार्यालयमा गरिएको मदिरा पार्टीको तस्विरहरू सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । तर, विवादित प्रतिक्रियाहरू आएपछि उनले केही घण्टामै ती तस्विरहरू हटाएका थिए ।

आर्थिक वर्ष सकिन लाग्दा विकास बजेटको ठूलो अंश खर्च भएको छैन । खासगरी सडक, सिंचाईं, बाटोघाटो लगायत विकाससँग सम्बन्धित बजेट शिर्षकको ठूलो अंक खर्च गरिएको छैन । चालू शीर्षकमा विनियोजन बजेट खर्च भए पनि विकासका लागि गएको बजेट पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय र स्थानीय तहहरूले खर्च गरेका छैनन् ।

विकास बजेट खर्च नभएपछि कतै भ्रमण जाने त कतै होटलमा पार्टी गर्ने, भत्ता, कमिसन बाँडचुँड गर्ने आदिबाटै खर्च देखाउने गरिएको छैन । विकासका लागि गएको यस्तो बजेट अनावश्यक काममा खर्च हुँदा पनि नियामक निकायहरूको ध्यान गएको छैन ।

जिल्लाका निमायक निकाय, नागरिक निगरानी संस्थाहरु मौन रहँदा कार्यालयहरूमा यस्ता मनोमानी र विकृतिहरू बढ्दै गएको नागरिक अगुवा ओम प्रकाश साहले बताए । -इकर्मचारीबाट


प्रतिक्रिया दिनुहोस !