१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

मौद्रिक नीति बजारमैत्री नआउने छनक, राष्ट्र बैंकका कर्मचारीले बेच्न थाले सेयर



नियामक निकाय नेपाल राष्ट्र बैंकमा कार्यरत कर्मचारीका आफन्तले किनेको सेयर धमाधम बेच्न थालेपछि आगामी आर्थिक वर्षको मौद्रिक नीति सेयर बजारमैत्री नपाउने सम्भावना बढेको छ ।

केन्द्रीय बैंकमा कार्यरत कर्मचारीहरुले धितोपत्र दलाल व्यवसायी (ब्रोकर)लाई फोन गरेर आफ्ना आफन्त र नजिकका व्यक्तिसँग भएको सेयर बेच्न भनिरहेका छन् । राष्ट्र बैंककै कर्मचारीहरुले धमाधम सेयर बेच्न थाले पनि ब्रोकरहरुले आफ्ना राम्रा लगानीकर्तालाई सेयर बेचाइरहेका छन् ।

राष्ट्र बैंकका उच्च तहमा बस्ने कर्मचारीले आफ्नो खाता भएको ब्रोकर र ठूला लगानीकर्तालाई मौद्रिक नीति बजारमैत्री नआउने र आफूसँग भएको सम्पूर्ण सेयर बेचेर बस्न फोनमार्फत भनिरहेका छन् ।

केन्द्रीय बैंकले सेयर बजारलाई कस्ने नीति अख्तियार गर्ने सम्भावना छ । गभर्नर, डेपुटी गभर्नर, राष्ट्र बैंकका कार्यकारी निर्देशकदेखि उपनिर्देशकसम्म छलफल हुँदा बजारलाई नियन्त्रण गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्ने सुझाव दिएका छन् ।

अहिले केन्द्रीय बैंकमा कार्यरत कर्मचारीले आफ्नो सेयर बेच्न सुरु गरेको र त्यसैको मनोवैज्ञनिक असर सेयर बजार परिरहेको छ । राष्ट्र बैंकका कर्मचारीको खाता ब्रोकरले ह्यान्डिल गरेका हुन्छन् । ब्रोकरले उनीहरुको नाममा सेयर किन्ने र बेच्ने गरिरहेका हुन्छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय कम्पनीहरुको पहिलो सूचना केन्द्रीय बैंकमा पुग्छ । त्यहाँबाट कर्मचारीले सूचना फुत्काउने र आफ्नो ब्रोकरलाई दिने वा कम्पनीको वास्तविक अवस्था थाहा पाएपछि सेयर बेच्ने वा किन्ने काम चलिरहेको छ ।

अहिले मौद्रिक नीतिले बजारलाई नियन्त्रण गर्ने सम्भावना बढेपछि उनीहरुले आफूसँग भएको सेयर बेचिरहेका छन् । ‘मौद्रिक नीति जुन ठाउँमा बन्छ, त्यही काम गर्ने कर्मचारीले सेयर बेचिरहेको अवस्था छ, यस्तो अवस्थामा ब्रोकर वा अन्य ठूला लगानीकर्ताले कसरी सेयर किन्छन्,’ एक स्टक ब्रोकर सञ्चालकले भने, ‘भोलि मौद्रिक नीति बजार अनुकूल नै आयो भने पनि आज उनीहरुले सेयर बेचिरहेकाले सबैको मनोवल गिरेको हो ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय