
काठमाडौं । सर्वोच्च अदालतले संसद पुन:स्थापनाको फैसला सुनाएपछि सत्तारुढ दल एमालेका कार्यकर्ता सडकमा उत्रेका छन् । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा अहिले विरोध प्रदर्शन शुरू भएको छ ।
सर्वोच्चले संसद विघटन गर्ने सरकारको निर्णय उल्टाउनुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले आक्रोशित भएको हो । युवा नेता महेश बस्नेतले फेसबुकमार्फत माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्चको असंवैधानिक फैसलाप्रति विरोध जनाउन आह्वान गरेका थिए ।
युवा संघका कार्यकर्ताले ‘सबै फैसला मानिँदैन, खबरदार’ लेखिएको ब्यानरका साथ माइतीघरमा प्रर्दशन गरिरहेका छन् ।
फैसलाको बिरोधमा बुटवलमा पनि प्रदर्शन
सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशविरुद्ध बुटवलमा पनि प्रदर्शन भएको छ ।
नेकपा एमालेनिकट युवा विद्यार्थीले अदालतको आदेशविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘गैर संवैधानिक परमादेश खारेज गर’ लेखिएको ब्यानर देखाउँदै प्रदर्शन गरेका छन् ।
आज अदालतले प्रतिनिधिसभा पुनःस्थापनासँगै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको हो । प्रतिनिधिसभाका १ सय ४६ जना सदस्यहरुले दिएको रिट निवेदनको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको हो ।