१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

देउवा क्याविनेटमा शर्मा, थापा, खाँड र भुषाल जाँदै



काठमाडौं । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । राष्ट्रपतिको कार्यालयले देउवालाई आजै प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै देउवाले कम्तिमा ६ जनाको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । उनले कांग्रेसका दुई, माओवादी केन्द्रका दुई र उपेन्द्र यादव नेतृत्वको जसपाको दुई जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।

स्रोतका अनुसार देउवाले कांग्रेसबाट गगन थापा र बालकृष्ण खाँडलाई मन्त्रीमा नियुत्त गर्दैछन् । देउवाले कांग्रेसको आगामी महाधिवेशनलाई लक्षित गरेर मन्त्रिपरिषद् विस्तारको रणनीति तयार गरेका हुन् ।

थापालाई सरकारमा ल्याएर आफ्नो नजिक राख्ने र महामन्त्रीको दावी गरिरहेका बालकृष्ण खाँडलाई मन्त्रीमा नियुक्त गरेर उक्त पदमा अर्को नेतालाई व्यवस्थापन गर्ने रणनीतिमा देउवा देखिएका हुन् ।

यस्तै माओवादीका नेताहरु जनार्दन शर्मा र पम्फा भुषाललाई पनि आजै मन्त्रीमा नियुक्त गर्दैछन् । माओवादी केन्द्रले यी दुई नेताको नाम सिफारिस गरेको बताइएको छ । तर, मन्त्रालय टुंगीएपछि नारायणकाजी श्रेष्ठले उप–प्रधानमन्त्री सहित सरकारको नेतृत्व दावी गरिरहेका छन् ।

जनार्दन शर्माले पनि गृहमा दावी गरेका छन् । पम्फा भुषाललाई संघीय मामिला मन्त्रालयको जिम्मेवारी दिन लागिएको स्रोतको दावी छ । यद्यपि अहिले नै माओवादीले नाम सार्वजनिक नगर्ने बताएको छ । मन्त्री को बन्ने भन्ने कुरा टुंगो लागे पनि माओवादी केन्द्रले शेरबहादुर देउवासँगको छलफलपछि मात्रै नाम सार्वजनिक गर्ने बताएको छ ।

उपेन्द्र यादव समूहले क–कसलाई सरहकारमा पठाउने भन्ने विषयमा छलफल गरिरहेको छ । जसपा स्रोतका अनुसार यादव आफैं नै उपप्रधान तथा पराराष्ट्र मन्त्रालयको जिम्मेवारी लिनेगरी सरकारमा सहभागी हुने तयारीमा छन् ।

केपी शर्मा ओलीविरुद्ध अदालतमा बहुमत जुटाउन मुख्य भूमिका खेलेको एमालेको माधव कुमार नेपाल पक्षले भने सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेको छ ।

नेपालले सोमबार अदालतको फैसलापछि आफू अब विपक्षी गठबन्धमा नरहने स्पष्ट पारेका छन् । -नेपालवाचबाट


प्रतिक्रिया दिनुहोस !