११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

कोभिड संक्रमणले राजस्व संकलनमा धक्का, मंगलबारसम्म ८ खर्ब ३५ अर्ब मात्रै उठ्यो



 कोभिड-१९ संक्रमणका कारण सरकारले चालु आर्थिक वर्षमा राखेको राजस्व लक्ष्य नभेट्ने भएको छ। कोभिड नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लगाएको थियो। यही निषेधाज्ञाका कारण आर्थिक क्रियाकलापमा संकुचन आएकाले राजस्व लक्ष्य पूरा नहुने भएको हो।

सरकारले चालु वर्ष ९ खर्ब १२ अर्ब राजस्व उठाउने लक्ष्य लिएको थियो। महालेखा नियन्त्रकको तथ्यांक अनुसार असार २९ गतेसम्म सरकारले ८ खर्ब ३५ अर्ब राजस्व संकलन भएको छ। लक्ष्य पुरा गर्न सरकारले दुई दिनमा ७७ अर्ब राजस्व संकलन गर्नु पर्नेछ। यो करिब असम्भव छ।

यो वर्ष आन्तरिक राजस्व र भन्सार महसुल दुबैमा राजस्व संकलनको लक्ष्य पुरा नहुने देखिएको छ। चालु वर्षमा भन्सार विभागले ४ खर्ब ४० अर्ब र आन्तरिक राजस्व विभागले ४ खर्ब ५० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। आन्तरिक राजस्व तर्फ ठूला कम्पनीले तिर्ने आयकर गत वर्षको तुलनामा कम दाखिला भएका छन्। व्यावसाय गर्ने मुख्य सिजनमा नै कोभिडको दोस्रो लहर फैलिएपछि कम्पनीहरुको आम्दानी खस्केको हो। प्राय: कुनैपनि ठूला करदाताले गतवर्ष भन्दा कम मात्रै राजस्व दाखिला गरेको विभागले जनाएको छ।

न किस्तामा तिर्ने अग्रिम आयकर कर सुरुदेखी नै ठूला करदाता कार्यालयले लक्ष्य अनुसार असुल गर्न सकेको थिएन । यस्तै मूल्य अभिवृद्धि कर भ्याटमा पनि लक्ष्य अनुसार असुल हुन सकेको छैन। अन्त:शुल्क शीर्षकको राजस्व संकलनमा पनि लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको  विभागले जनाएको छ।

कोभिडको दोस्रो लहर सुरु हुनु केही महिना पहिले भन्सार तथा आन्तरिक राजस्वको दुबै शीर्षकमा राजस्व लक्ष्यभन्दा धेरै संकलन गरिरहेका थिए। तर कोभिड सुरु भएदेखी नै दुबै शीर्षकमा राजस्व कम मात्रामा संकलन हुन थालेको थियो। चालु वर्षमा मोटरसाइकल र गाडी आयात झन्डै दोब्बरले आयात वृद्धि भएको छ। यसले भन्सार महसुलमा संकलनमा केही सहयोग पुगेको छ।

चालु वर्ष सकिन केहि दिनमात्रै बाँकी रहँदा ४ खर्ब २० अर्ब भन्दा बढी भन्सार महसुल संकलन भैसकेको छ। यस्तै आन्तरिक राजस्वतर्फ ४ खर्ब १० अर्ब भन्दा धेरै राजस्व संकलन भएको छ। चालु वर्ष अनुदान र गैरकर संकलन निकै कम मात्रामा संकलन भएको छ। ६० अर्ब अनुदानबाट संकलन गर्ने लक्ष्य लिएको सरकारले ११ अर्ब १२ करोड मात्रै प्राप्ति गर्न सफल भएको छ। यस्तै गैरकर शीर्षकमा ९८ अर्ब ८० करोड संकलन गर्ने लक्ष्य लिएको सरकारले हालसम्म ६४ अर्ब १४ करोड संकलन गरेको छ।


प्रतिक्रिया दिनुहोस !