१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

यस वर्ष पनि साउनको सोमबार नखुल्ने भयो पशुपतिनाथ



काठमाडौं । साउन महिनामा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायम रहेकाले मूल मन्दिर क्षेत्र सुनसान छ । सरकारले यही साउन १० गतेसम्म कोरोनाबाट बच्न जारी निषेधाज्ञा थप गरेकाले पशुपतिनाथ मन्दिर खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए ।

मूल मन्दिर क्षेत्रमा भक्तजनलाई जान दिइएको छैन । नयाँ भेरियन्टसहितको कोरोना तीव्ररूपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो ।

वैशाख १६ गतेदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो । असार दोस्रो सातादेखि अन्य क्षेत्र विस्तारै खुल्न थाले पनि बढी भीड हुने भन्दै धार्मिक क्षेत्र खोलिएको छैन । मन्दिर क्षेत्रमा मुख्य ढोकामा तालाबन्दी गरिएको छ । धेरै भीड बढ्ने भएकाले साउनमा पशुपतिनाथ मन्दिर खोल्न सकिने अवस्था नदेखिएको सदस्यसचिव ढकाल बताउँछन् ।

साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शका लागि आउने गर्छन् ।

गत वर्ष पनि साउन महिनामा कोरोनाका कारण मन्दिर खुल्न सकेको थिएन । गत वर्ष साउनमा भक्तजनले पशुपति क्षेत्रमा आएर बाहिरबाटै पशुपतिनाथको दर्शन गरेका थिए । बाहिरबाट दर्शन गर्नसमेत भक्तजनको भीड लागेको थियो । साउन १ गते भएकाले आज बिहान पशुपति क्षेत्रको बाहिरी परिसरमा भने गत दिनहरूमा भन्दा बढी चहलपहल देखिएको कोषले जनाएको छ ।

२०७६ चैत पहिलो सातादेखि मङ्सिर मसान्तसम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरूपमा बन्द गरिएको थियो । पुस १ गतेदेखि बिहान छ बजेदेखि मध्याह्नसम्म खुला गरिएको थियो ।

महाशिवरात्रिदेखि भने पशुपतिनाथ मन्दिर साविकअनुसार नै खोल्न थालिएको थियो । वैशाख लागेपछि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि पुनः बन्द गरिएको हो । सदस्यसचिव डा ढकाल वातावरण सामान्य बन्दै गएमा तीजमा भने मन्दिर खोल्न सकिने बताउँछन् ।

भक्तजनका लागि बन्द गरिए पनि पशुपतिनाथ मन्दिरमा नित्य पूजालगायत कर्म भने जारी छ ।

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । राजधानीका अन्य शिवालयमा भने भक्तजनको चहलपहल देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !