७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

थुनिएको बाँध भत्काउन गएको सुरक्षाकर्मीको टोली कामै नसकी फर्कियो



दार्चुला : दार्चुलाको नौगाड गाउँपालिका–३ स्थित खार खोला र नौगाड नदी दोभानमा पहिरो खसेर बहाव थुनिएपछि बनेको ड्याम (बाँध) खोल्न सदरमुकामबाट गएको सुरक्षाकर्मीको टोली कामै नसकी फर्किएको छ । असार २५ गते आएको बाढीपहिरोले नदी दोभानमा पहिरो खसेर नदीको बहाव रोकिएर ड्याम बनेको थियो । तीन दिनपछि बाँध खुलाउन सदरमुकामबाट सुरक्षाकर्मीको टोली नौगाड गएको थियो ।

बिहीबारसम्म बाँधमा जम्मा भएको पानीको मात्रा घटे पनि शुक्रबार पानी परेपछि बढ्दै गएको खारका स्थानीय प्रेमसिंह ठगुन्नाले बताए । खार खोला थुनिएर एक सय मिटर चौडाइ र करिब चार सय मिटर लम्बाइको ड्याम बनेको छ । ड्यामका कारण नजिकै रहेको बस्ती जोखिममा रहेको ठगुन्नाले बताए । ‘ठ्याक्कै ड्यामनजिक १८/२० घरपरिवार जोखिममा छन्,’ उनले भने, ‘तल्लो क्षेत्र त जोखिम नै भयो, ड्याम आफैं फुट्यो भने धुलिगडा, देथलासम्म नदी किनारका बस्तीमा बाढीको जोखिम छ ।’

नदी किनारबाट स्थानीयसहित जिल्लाबाट आएका सुरक्षाकर्मीले बाँधको एकतर्फको पानी खोलेको थियो । दुई/तीन दिन पानी नपर्दा बाँधको पानी घट्दै गएको थियो । ‘शुक्रबार बिहानैबाट पानी पर्न थालेपछि बाँधमा पानी बढेको छ,’ ठगुन्नाले भने, ‘सुरक्षाकर्मी र स्थानीय मिलेर बाँधको केही भाग खुलाइएको थियो । नौगाड नदीमा पानीको मात्रा बढेपछि ड्याम बढ्दै गइरहेको छ ।’

५/६ दिनसम्म स्थानीय र सुरक्षाकर्मीले बाँध खोल्ने प्रयास गरेका थिए । पूरै ड्याम खोल्न नसकिएपछि सुरक्षाकर्मीहरू फर्केका हुन् । नदीको दोभानमा करिब तीन सय मिटर लामो बाँध बनेपछि एस्क्काभेटेर वा डोजर प्रयोग गर्न सके ड्याम पूरै खोल्न सकिने ठगुन्नाको भनाइ छ ।

खारखोलाको आसपास खसेको पहिरोले नौगाड नदी र खारखोलाको दोभानमा चुच्चो भएको लामो बाँध बनेको छ । उक्त बाँधको ६० मिटर लम्बाइ, १८ मिटर चौडाइ ६/७ फिट गहिराइमा नदी खोलिएको छ । बाँध बनेको नदीको एक छेउबाट पानी निकासा हुने गरी खोलिएको हुनाले अहिले तल्लो क्षेत्रमा जोखिम नरहेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताए । ‘नदीको पानी बग्ने बनाएपछि सुरक्षाकर्मीको टोली बिहीबार सदरमुकाम फर्केको हो । पानीको निकास भएकाले नदी एकै पटक बग्ने नदेखिएकाले बाँधबाट हुने जोखिम टरेको छ,’ उनले भने, ‘उक्त बाँध एकै पटक खोले नौगाडसँगै चौलानी नदी तटीय क्षेत्रमा खतरा हुन सक्थ्यो । पानीको निकास भइसकेकाले जोखिम हटेको छ ।’

बाढीले खार र जामिर जोड्ने झोलुंगे पुल बगाएपछि स्थानीयलाई हिँड्न बाटोको समस्या थियो । उक्त क्षेत्रमा बाँध खुलाउन गएको टोलीले काठको पुल निर्माण गरेकाले अस्थायी बाटो बनेको डीएसपी भट्टले बताए । ठगुन्नाका अनुसार पूरै बाँध नखोलिएकाले बाँधनजिक घर भएका हरकसिंह ठगुन्ना, दलजित ठगुन्ना, मानसिंह ठगुन्ना, गणेश ठगुन्ना र रामसिंह ठगुन्ना विस्थापित छन् । उनीहरू दिनमा काम गर्न जाने र राति आफन्तको घरमा जाने गरेको उनले बताए । बाँध आसपास बस्तीका १८/२० परिवार डुबानको जोखिममा छन् । बाँकी परिवार जोखिम मोलेर बसेका छन् ।


प्रतिक्रिया दिनुहोस !