७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

कांग्रेसमा मन्त्री बन्न दर्जनबढी नेताहरुको दौडधुप



काठमाडौं । सरकारको नेतृत्व गर्ने अवसर पार्टीभित्रबाट सभापति शेरबहादुर देउवालाई प्राप्त भएपछि नेपाली काँग्रेसमा मन्त्रीका आकांक्षी बढेका छन् । देउवा प्रधानमन्त्री भएसँगै कांग्रेसका सांसदहरू मन्त्री बन्न सक्रिय भएका हुन्। गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँड भइनसके पनि कांग्रेसका सांसदहरू मन्त्री बनाइदिन भन्दै शीर्ष नेताहरूको निवास धाइरहेका छन्। सभापति देउवाले आफू निकट खाँण र कार्कीलाई सरकारमा सहभागी गराइसकेका छन् ।

कांग्रेसबाट सरकारमा पुष्पा भुसाल र नारायण खड्कालाई पनि सहभागी गराउने निश्चित रहेको स्रोतको दाबी छ। भुसाल अहिले कांग्रेस सचेतक रहेकि छिन् । प्रमुख सचेतक खाँणले गृह मन्त्रालयको जिम्मेवारी पाए । संसदीय दलका नेता देउवाले मीन विश्वकर्मालाई प्रमुख सचेतक र भुसाललाई पनि मन्त्री बनाएपछि प्रमिला राईलाई सचेतक बनाउने तयारी गरेका छन् । तर देउवानिकट केहीले भने राईलाई मन्त्री बनाउन सुझाएका छन्।

पहिला उपप्रधानमन्त्री भएका प्रकाशमान सिंह र सुजाता कोइराला पनि सरकारमा सहभागी हुन चाहेको निकट स्रोतको दाबी छ। तर कांग्रेस संस्थापन इतर समूहका सिंह र कोइराला उपप्रधानमन्त्री नपाए सरकारमा सहभागी हुने छैनन्। संस्थापन इतरका दिलेन्द्रप्रसाद बडु पनि सरकारमा सहभागी हुने सम्भावना बढिरहेको छ। यस्तै प्रमोद यादव, राजन केसी, तुजुलाल चौधरीमध्येबाट पनि सरकारमा सहभागी हुने सम्भावना बढी रहेको एक नेताले बताए ।

केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई असार २९ गते नै संस्थापन इतर पक्षले सरकारमा पठाउन खोजे पनि देउवाले नचाहेको स्रोतको दाबी छ। केन्द्रीय सदस्य गगन थापा पनि सरकारमा सहभागी हुन खोजेको ती नेताले जानकारी दिए । विगतमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको कोटाबाट स्वास्थ्यमन्त्री बनेका थापालाई अहिले फेरि संस्थापन इतर ९रामचन्द्र पौडेलसहितको समूह० बाट सरकारमा पठाउने खोजिएका प्रति निकटहरूले भने असन्तुष्टि जनाउन थालेका छन्। मन्त्री बन्नका लागि सञ्जय गौतम, मोहन पाण्डे, लालकाजी गुरुङसहितका नेताहरू पनि लागिपरेको स्रोतको दाबी छ।

नागरिक दैनिकका अनुसार पूर्वमहामन्त्री सिटौलाको कोटाबाट केन्द्रीय सदस्य उमाकान्त चौधरीलाई सरकारमा सहभागी गराउने तयारी छ। यसअघि सिटौला समूहबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा थापा र देउवा नेतृत्वको सरकारमा भीमसेनदास प्रधान मन्त्री हुनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !