१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

सवारी साधनबाट दुई/दुई हजार असुल्ने ११ प्रहरीमाथि अनुसन्धान शुरु



वीरगञ्ज । रकम असुलीमा संलग्न रहेको आशंकामा बाराको पथलैयास्थित प्रहरी चौकीमा कार्यरत सबै प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय तानिएका छन् । प्रहरी चौकी पथलैयाका ईन्चार्ज श्यामबाबु यादव सहित त्यहाँ कार्यरत ११ जनाको टोलीलाई जिल्ला झिकाएर घटनाको अनुसन्धान थालिएको हो । उनीहरुको ठाउँमा ११ जनाको नयाँ टोली खटाइएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले बताए । ‘रकम नै उठाएको प्रमाण त भेटिएको छैन, गाईंगुईं हल्ला भने सुन्न थालियो’ उनले भने ‘ कारबाही गर्न होइन, धेरै जनाको परिवर्तन गर्ने समय पनि पुगिसकेको थियो । सोधपुछका लागि पुरै टोलीलाई झिकाएका छौं ।’

प्रदेश ट्राफिक कार्यालय माथि पनि छानबिन सुरु भएको प्रहरी स्रोतले जनाएको छ । प्रदेश ट्राफिक कार्यालय पथलैयामा भने केन्द्रीय प्रहरी विभागका टोलीले अनुसन्धान गर्ने भएको छ । राजमार्गको व्यस्त चोक पथलैयामा दुवै कार्यालयले सय मिटरको अन्तरमा चेक पोष्टको बोर्ड राखेर दैनिक सवारीको चेकजाँच गर्दै आएका छन् । अपराध नियन्त्रण, लागुऔषध ओसार पसार, तस्करी नियन्त्रण, हातहतियार लगायत संवेदनशील विषयको चेकजाँच छाडेर रकम असुलीमा प्रहरी केन्द्रित भएको गुनासो माथिल्लो निकायसम्म पुगेको थियो ।

निषेधाज्ञामा पासविना गुडेका सार्वजनिक यात्रुबससँग दुवै चेकपोस्टले दुई दुई हजार रुपैयाँसम्म लिने गरेको यातायात व्यवसायीहरु नाम उल्लेख नगर्ने शर्तमा बताउँछन् । दुवै चेक पोस्टले गैरकानुनी रुपमा शुल्क लिएपछि यातायात व्यवायीले त्यो रकम सर्वसाधारणबाटै असुल्दै आएका थिए । यात्रुले चर्को भाडादरमा यात्रा गर्नु परिरहेको गुनासो गर्दै आएका थिए ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय