१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

चोभारमा सुख्खा बन्दरगाह निर्माण सकियो, तीन महिनापछि सञ्चालनमा



काठमाडौं। काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाह निर्माणको काम करिब सकिएको छ । स्थानीयको विरोध र कोरोना महामारीका कारण निर्धारित मितिभन्दा एक वर्ष ढिला निर्माण सकिएको बन्दरगाह अबको तीन महिनापछि सञ्चालनमा आउने भएको छ । उक्त बन्दरगाहको २०७५ माघ ३ गते शिलान्यास भएकाे थियाे ।

‘भौतिक संरचना निर्माणको काम सकिएको छ’, आयोजनाका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘भन्सार, सुरक्षालगायतको काम बाँकी छ, अबको तीन महिनापछि बन्दरगाह उद्घाटन गर्ने योजना बनाएका छौं ।’ समयमा नै काम सक्ने प्रतिवद्धताका साथ निर्माण अघि बढाए पनि कोरोना महामारी र स्थानीयको अवरोधका कारण एक वर्ष ढिला भएको उनको भनाइ छ ।

समयमै काम नसकिएपछि गत साल आयोजना निर्माणका लागि एक वर्ष म्याद थपिएको थियो । तीन महिनाभित्र खुख्खा बन्दरगाहमा चाहिने कन्टेनरको शुल्क निर्धारण, फर्निचर सेटअप, कर्मचारी भर्ती तथा अन्तिम फिनिसिङको काम पनि सकिने बताइएको छ ।

बन्दरगाह निर्माणका लागि एक अर्ब ४४ करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर, लागत १२ प्रतिशतले बढेर १ अर्ब ६० करोड पुगेको निर्देशक गजुरेलेको भनाइ छ । उनका अनुसार योजनामा नपरेका काम पनि सम्पन्न गर्नुपर्ने भएकाले लागत बढेको हो ।

बन्दरगाह बनेको ठाउँमा यसअघि हिमाल सिमेन्टको कारखाना थियो । सिमेन्ट उद्योगको १ हजार ५४ रोपनीमध्ये २ सय २० रोपनीमा बन्दरगाह निर्माण भएको हो । बाँकी जग्गामा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बनाइने छ । निजगढ-काठमाडौं द्रूतमार्ग, भारतसँगको रेलमार्ग, केरुङ रेलमार्ग र बाहिरी चक्रपथसँग जोडिने यो बन्दरगाहमा व्यापारिक गतिविधि उल्लेख्य हुने आँकलन गरिएको छ ।

बन्दरगाह संचालनमा आएसँगै व्यापारीले ठूलो राहत पाउने निर्देशक गजुरेल बताउँछन् । अब व्यापारीले आफ्नो सामानको भन्सार तिर्न कोलकता, वीरगञ्ज, विराटनगर नै जानुपर्ने वाध्यताको अन्त्य हुने गजुरेलेको भनाइ छ ।

उनका अनुसार बन्दरगाहमा ३ सय ८० वटा २० फिटका कन्टेनर राख्न सकिने छ । यहाँ पाँचवटा ब्लकको गोदाम बनेका छन् । साथै, १ हजार ३ सय वर्गमिटरमा खुला जाँच क्षेत्र रहेको छ । यस्तै, यहाँ सामान जाँच्ने स्टेसन, लोड-अनलोड, नापतौल र नियन्त्रण कक्ष, पार्किङ तथा सडक निर्माण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !