७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

मालिकको इसारा ! अराजक फैसला र सुशासनको चाहना : जयराम बिडारी



मानवीय स्वभाव अनि उ भित्रको अन्तर्निहित चेतनास्तर फरक हुनु अस्वभाविक होइन । तर नेपालमा बुद्धि बेचेर बाँच्ने कतिपय व्यक्तिहरु अराजकताको कारखाना जस्तै भएका छन् भन्दा फरक पर्दैन । बिभिन्न समुहमा विभक्त वा गोलबद्ध रहेका साथै विचारका भारी बोक्ने र बिसाउने, समाजले बुद्धिजीवी ठानिदिएको यस्ता बर्ग स्वयं भने आत्मरतिमा रमाउंदै बिषाक्त विचार फैलाउनमा अभिसप्त रहेको पाइन्छ । समग्रमा मानिस गुण र दोषको सम्मिश्रण हो । तर, गुणवत्ता वा निर्दोषतालाई विवेकको प्रयोग गरेर छान्ने र मुल्यांकन गर्नुनै उचित हुनेछ तर यथार्थमा ख्वामित् हजुर नै महान भन्नेहरुलाई त रामराम बाहेक के नै पो भन्न सकिएला र जसरी ०६२/०६३२ को जनआन्दोलन भनिएको बखतमा हाम्रो समग्र समाज अग्रगमनको राग अलापेर थाकिरहेको थिएन र आम जनसमुदाय त्यसलाइ स्विकार गरेर अघारहेको थिएन तर निक्कै कम मानिसहरुलाई मात्र तत्कालीन जनान्दोलन भनिएको अराजक भीड र त्यसपछिको उपलब्धिको बारेमा कुनै रुचि र दिलचस्पी थिएन । ती अल्पसंख्यक मानिसहरु उक्त जनान्दोलन भनिएको भीडमा आफूलाइ उभ्याएका थिएनन् । आजका कतिपय अभियन्ता नामक स्वनामधन्यहरु त्यतिबेला कुन कुनामा बसिरहेका थिए, कसैलाई अत्तोपत्तो थिएन ।

हिजोको दिनमा कांग्रेसले, कम्युनिष्टले, राजावादीले वा त्यो वादीले यसो गरे देश बर्बाद पारे भनेर उपबुज्रुक भएका कतिपय मानिसहरु यतिबेला निरंकुशवादी वा अग्रगमनवादीका ब्याख्याताका रुपमा क्रियाशील रहेका पाइन्छन् । तीनका पिछलग्गू कार्यकर्ताहरु भने ख्वामित हजुरनै महान भनेर नथाक्नेहरुको बाहुल्यता कति छन् सर्वबिदितै छ । लोकतन्त्रको सुन्दर पक्ष जो कोही कसैको प्रशंसक हुन पाउछ, हुनु पनि पर्छ तर तीनका गुण र दोषको आधामा मुल्यांकन हुनु र गरिनु पर्दछ। व्यक्ति वा समूहका कतिपय असल कामको खुलेर प्रशंसा गर्नलाई कुनै कन्जुस्याइ गर्नु पर्दैन । तर यसको मतलब आजिवन उक्त व्यक्ति वा समुदाय मानौं त्यो पारशमणि हो जस्ले छुने बित्तिकै फलाम पनि सुन बन्छ भन्ने पक्षमा चाहि हुनुभएन । समग्रमा सामाजिक प्राणीको हैसियतले समाजमा हुने गरेको औसत कामको जस दिन कन्जुसायाइ गरिनु पनि हुंदैन र अनावश्यक विरोध पनि गरिनु हुँदैन । दुरगामी महत्व नरहेका कर्मको सर्वकालिक प्रशंसाको भागीदार बनाउनु पनि उचित हुँदैन ।

हालै सर्बोच्च अदालतले गरेको फैशलाका सम्बन्धमा समाज २ बर्गमा बिभाजित रहेको पाइएको छ । मुख्यतया एकथरी बुद्धिजीवीहरु सर्वोच्च अदालतको निर्णयले संबिधानको र लोकतंत्रको रक्षा भएको निष्कर्ष निकालिरहेका छन् भने एकथरी बुद्धिजीवीहरु सर्बोच्चले सीमाको उल्लंघन गरेर राजनैतिक बिषयमा प्रवेश गरेर भविष्यमा शक्तिको केन्द्रीय भागमा प्रवेश गर्ने मूलबाटोको निर्माण गरिरहेछ भनेर जनमत सृजना गर्न खोजिरहेका छन् । तर सर्वोच्चले गरेका अन्य कतिपय निर्णय हरुमा जनचासो र सरोकार नभएपनि २७५ संख्यामा रहेका संघीय सांसद संख्यालाइ ३०२ को मान्यता दिएर फलानो व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्ति गरिदिनु भन्ने व्यहोराको परमादेश सहितको फैशलामा २ पक्षीय झगडियाहरु मध्यमा एक पक्षीय झगडियाहरु खुशी र अर्को पक्षीय बेखुशी हुनु अस्वाभाविक होइन । तर अदालतमा पनि जात्रा प्रवेश हुनु चाँही गम्भीर चासोको विषय हो । नेपालमा अस्थिरता निम्तिनुमा अदालतको भूमिका पनि उत्तिकै जिम्मेवार छन् । विगतका कतिपय निर्णय र फैशलाको मूल्य देशले आज पनि चुकाइरहेको छ ।

नीति, विधिी पद्धतिको गर्नु पर्दा केही पनि अछुतो नरहेको प्रष्ट मात्र होइन छरपष्टै देखिएको छ । हिजो प्रचण्ड र केपी ओली जहाजको दुई क्याप्टेन अब जहाज़ रफ्तारमा उड्छ भन्दै कुर्लिएको , केपी ओलीको बयलगाढा चढेर अमेरिका नपुगिने प्रसंग, माधव नेपालको प्रतिगमन आधा सच्चिएको प्रसंग प्रचण्डले मालिकसँग वार्ता गर्छु भन्ने प्रसंग, नेपाली कांग्रेसले राजाको रिसले आफ्नो मूल नीति संबैधानिक राजतंत्र र बहुदलीय प्रजातंत्रलाइ तिलाञ्जली दिएर गणतन्त्र स्विकारेको प्रशंग हेर्दा लाज सरम भएको कही कतै कोही र कसैसंग त्यो नैतिक आधार भेटिँदैन । हिजोका दिनमा हिंसाको राजनीति गरेर निर्दोष जनताको हत्या गरेबापत टाउकाको मोल तोक्ने र तोकिनेहरु यतिबेला परमित्र बनेको अवस्थाले हाम्रो राजनीति अन्त कतैबाट निर्देशित छ र आवरणमा देखिएका हाम्रा नेताहरु कारिन्दा मात्र रहेको स्पष्ट बुझ्न धेरै मेहनत गरिरहनु पर्दैन । बरु सत्ता स्वार्थका लागि जस्तोसुकै हर्कत गर्न पछि नपर्ने राजनैतिक प्राणी भन्दा २४० वर्षे बिरासत चटक्कै छोड्न सक्ने ती राजा ज्ञानेन्द्र शाह कता हो कता जनप्रेमी, राष्ट्रवादी, निःस्वार्थी र त्यागी रहेछन् भन्ने कुरा समयले प्रमाणित गरिसकेको छ । जनताले यो कुरा बुझ्न जरुरी छ ।

सामान्य अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने थलो संसद हो । अदालत होइन । तर अवस्था असामान्य रहेको अवस्थामा अदालतले प्रधानमन्त्री नियुक्त गरेका अनेकौं पटकको नजिरहरु छन् । जतिपटक अदालतले न्यायीक निरुपणका नाममा संसद पुनर्स्थापन वा विघटन गरेको छ । देश त्यतिनै अस्थिरता र दुश्चक्रको भुमरीमा फसेको छ । शक्ति पृथकिकरणको सिद्धान्त अनुसार व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको रुपमा स्थापित संरचनाले आफ्नो भूमिका निभाउने क्रममा विवेकको प्रचुर प्रयोग नगरी दिँदा अन्ततोगत्वा सास्ती पाउने देश र जनताले नै हो । स्वतन्त्र न्यायालयको धज्जी उड्ने गरि अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्धामा एकपटक न्यायाधीश भएका न्यायाधीशहरुको बक्तब्यबाजी पनि अदालतलाई प्रभावमा पार्ने प्रक्रिया थिएन भन्न सकिन्न । त्यसैले फैशला सरकारको पक्षमा आए सेटिंग भनिन्थ्यो बिरुद्धमा आएकोले अग्रगामी भन्नेहरुको संख्या अधिक छ । तर एमालेको माकुने ग्रुप र जसपा ग्रुपलाइ शक्तिको केन्द्रीय भागमा राखेर चलखेललाई वैधानिकता दिनेगरि आएको फैशलाले पारित गराउनमा अहम् भूमिका निभाउनका लागि सहज मार्ग निर्माण गरिदिएकोले भविष्यमा हामीले आफ्नो अस्तित्व कायम गराउन बहुत कष्ट ब्यहोर्नु पर्ने कुरा धेरैको समझमा नरहेको देखिन्छ आज फगत जीतको उन्मादमा रमाउनेहरु भोलि नराम्ररी रुनुपर्ने दिन आउनेछ । यो चाहिं विचारणीय कुरो हो । तथापि अदालतको आदेशलाई सम्मान गरिनु आवश्यक छ ।

न्यायमूर्तिहरुले सनकमा सरकारलाइ दनक दिए वा देश र जनतालाइ त्यो भविष्यले देखाउला । एउटा दलवाट निर्वाचन जितेर अनि आफ्नै दलको सरकार अपदस्थ गरेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउने प्रक्रिया संसारको कुनै मुलुकमा अभ्यास गरिँदैन ।यस्तो विधिको ब्याख्याताको निर्णय पनि कहीँ नभएको जात्रा हाँडी गाउँमा भने जस्तै भएको हो । जनताको आदेशलाई अदालतको परमादेशको आधारमा यस्ता जात्रा पाराको पनि आदेश हुने एउटै दलमा सत्तापक्ष र प्रतिपक्ष स्विकार गरिने यस्तो पनि हुन्छ ? कम्फरटेवल सरकारका लागि गरिएएका यस्ता हत्कण्डा सबै साक्षी किनाराका सदर गरिनु मात्र न्याय मान्नु पर्ने हो ? जसरी जसपा लाइ संसद विघटन पनि स्विकार्य र परमादेश सहितको पुनर्स्थापन पनि स्विकार्य राजनीतिमा नैतिकता पुरै स्खलित हुनुपर्ने हो ? यहाँ कुनै पक्ष र विपक्षको बहसभन्दा पनि इतिहासदेखि वर्तमानसम्म अस्थिरताका निमित्त अदालत पनि उत्तिकै ज़िम्मेवार छ जति राजनैतिक दल र हामी निरिह जनता जिम्मेवार छौं । यो केवल कुनै पक्षको समर्थन र विरोधमा अनि अग्रगामी र प्रतिगामीको पक्षपोषण गरिएको होइन ।

जसरी सुगौली सन्धिका क्रममा सन १८१६ मा तत्कालीन नेपालका अधिकारप्राप्त प्रतिनिधि चन्द्रशेखर उपाध्याय तथा गजराज मिश्रलाइलाई अँग्रेजहरुले यथेष्ट नगद, पद र जमिन दिएर आफ्नो पक्षमा सही गर्न लगाएका थिए । आज पनि विदेशीहरूले नेपालका नीति निर्माण तहमा रहेकाहरूलाई प्रभावमा पारेर आफ्ना इच्छा र योजनामा सामेल गराउंदै आफ्ना योजना कार्यान्वयन गराइ रहेका छन् । तर अधिकांश दलदासहरु आफ्ना ख्वामित (मालिकको) निर्णयलाई अग्रगामी मान्दै घर जलिरहेछ, खरानीको ब्यापार गर्नमा निमग्न हुंदै थपडी बजाउनमा मस्त देखिन्छन् ।

यतिबेला कसको सरकार अपदस्थ भयो अथवा कस्ले सरकार निर्माण गर्यो भनेर खुशी भएर रमाउनेहरूले अन्ततः देशकै पराजय हुंदा भोग्नुपर्ने दण्ड अत्यंत भयावह हुनेछ । शक्ति पृथकिकरणको सिद्धांत अनुसार कार्यपालिका ब्यवस्थापिका र न्यायपालिका रहेकोमा ‘सबै काम अदालतले गर्ने भए संसदको के काम ?  सर्वोच्च अदालतको फैसला प्रजातन्त्रविपरीत, यस कारण पनि हुन सक्छ, कि एउटा दल बाट निर्वाचन जितेर आएको व्यक्तिले गणतान्त्रिक शासन व्यवस्थामा निर्दलीय अभ्यासका निमित्त अभिप्रेरित गरिदिएको छ । विपक्षी नेतालाई भोट दिन पाउने अधिकार सुनिश्चित गरिदिएको छ । पार्टीको ह्वीप नलाग्ने भनेर ग़ैरराजनीतिक चरित्र प्रस्तुत गरिदिएको छ । तसर्थ अदालतले सधैं सही गर्छ भन्ने होइन । त्यहां पनि न्यायमूर्तिका रुपमा मानिस नै रहने हुन् ती मानिसहरुका पनि मत विमत हुन्छन् । तीनका पृष्ठभूमि र झगडियाले मागेको आधारमा संवैधानिक इजलासको गठनको तजबिजी मिलाइनुका साथै फलानो भएसम्म मैले मुद्धा हेर्दिन भनेर गाइजात्रा देखाइनुका साथै निर्णय प्रकृयाका बारेमा जस् को प्रचारबाजी गरिनु आफैंमा अनौठो संयोग होइन होला ।

राजनीतिमा स्थाइ शत्रु र मित्र हुदैन भनेको घटनाक्रमले प्रमाणित गरिदिएको छ। एउटै पार्टीमा निरंतर ४० वर्षको सहकार्य गरेका ओली नेपाल यतिबेला २ विपरीत ध्रुवका पात्र रहेका छन् भने कुनैबेला टाउकाको मोल तोक्ने र तोकिने देउवा प्रचण्ड राष्ट्रका लागि भन्दै यतिबेला परममित्र बनेका छन् । जनताले विकाश समृद्धिर सुशासन चाहेका हुन् व्यवस्थाको शब्द परिवर्तन जस्तै (प्रजातन्त्र, लोकतन्त्र गणतन्त्र) आदी परिवर्तन भएर जनताको कष्ट परिवर्तन नहुँदो रहेछ । दल संग संलग्न केही थान मानिसहरुको समृद्धिले आम जनताले सुखी र खुशीको अनुभूति गर्न सक्दैनन् को कतिपटक प्रधानमंत्री भयो भन्ने कुराले भन्दा कस्ले देशको लागि के गरे भन्ने कुराले अर्थ राख्नुपर्ने हो तर बिडम्बना हामी ३२ बर्ष देखि निरन्तर रुपमा तिनै पेश गरेर प्रयोग भैसकेका इतिहासमा उनका योग्यता क्षमता र सक्षमता बोध गरिसकेका नयाँ बोत्तलमा पुरानो रक्सी भन्ने उखान जस्तै पुरानै बोतलमा पुरानै रक्सी पिएर बेहोशी हुन् अभ्यस्त छौं । हाम्रा विकास, समृद्धि र सुशासनको चाहनामा तुषारापात भैरहँदा पनि तिनै अयोग्यहरुबाट शासित हुन् बाध्य छौँ । समयक्रमले हाम्रा चेतनाको स्तर बढाओस् भनेर कामना गर्नुको अर्को विकल्प देखिंदैन ।


प्रतिक्रिया दिनुहोस !