७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

स्वीकृति नै नलिई इन्टरनेट सेवाको लागि केबल बिछ्याउँदै सिजी नेट



काठमाडौं । सिजी नेटले स्वीकृति नै नलिई इन्टरनेट सेवाको लागि केबल बिछ्याएको पाइएको छ । विजुलीको पोल हुँदै तार बिछ्याउँदा नेपाल विद्युत प्राधिकरणको स्वीकृति अनिवार्य हुन्छ । तर, चौधरी ग्रुपको सिजी नेटको तार भने स्वीकृति नै नलिई बिछ्याइरहेको पाइएको हो ।

तार विछ्याउनका लागि नेपाल विद्युत प्राधिकरणमा निवेदन दिएपनि स्वीकृति भने पाइसकेको छैन । अन्य कम्पनीहरुले स्वीकृति नलिई तार बिछ्याएको पाइएमा प्राधिरणले कारवाही समेत गर्दै आएको छ । तर, सिजी नेटले भने खुलेआम तार बिछ्याइरहँदा समेत कुनै कारवाही भएको छैन ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले सिजी नेटले तार विछ्याउनका लागि निवेदन दिएको जानकारी दिए । सिजीले स्वीकृति भने नपाइसकेको उनको भनाइ छ ।

स्वीकृति नलिई तार विछ्याउँदा कारवाही गर्ने प्राधिकरणले स्वीकृतिको प्रक्रियामा रहेको सिजी नेटलाई भने तार विस्तार गर्न दिइरहेका छन् ।

सिजी नेटका एक कर्मचारीका अनुसार, स्वीकृति नहुँदा विभिन्न स्थानमा तार विछ्याउँदै गर्दा विद्युतका कर्मचारीहरुले अवरोध गर्ने गरेका छन् । ती कर्मचारीले भने, ‘स्वीकृति लिने प्रक्रियामा छौं, अहिले तार विछ्याउँदै गर्ने हो भन्दा विद्युतका कर्मचारीहरुले स्वीकृति नलिई तार तान्न पाइन्न भन्छन् ।’

कतै तार तान्ने काम रोकिएको भन्ने आफूलाई थाहा नभएको प्रवक्ता तिमिल्सिनाको भनाइ छ । ‘स्वीकृतिको प्रक्रियामा छ, उनीहरुले काम पनि गरिरहको होलान, काम रोकिएको बारेमा मलाई थाहा छैन’ उनले भने ।

यस विषयमा सिजी नेटसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

प्राधिकरणले अन्य केबल टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायकहरुका लागि भने स्वीकृति नलिई तार तान्न नदिने गरेको इन्टरनेट सेवा प्रदायकहरुको गुनासो छ ।

सस्तो इन्टरनेट दिने भन्दै सिजी नेटले काठमाडौं उपत्यकामा सेवा विस्तार गरिरहेको छ ।-नागरिकखबरबाट


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय