१६ जेष्ठ २०८०, मंगलवार
 |   Tue May 30 2023
Logo

महाराजधिराज (ओली) को आममाफीमा हामी नाँच्नु कि हाँस्नु ? माधव नेपाल



काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् ।

४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामि बाटो विषयक प्रवचन कार्यक्रममा वरिष्ठ नेता नेपालले आममाफी दिने ओलीको घोषणालाई श्री ५ को संज्ञा दिएका हुन् ।

नेता नेपालले ओली अझै परिवर्तन नभएको बताउँदै गत वर्षदेखि पार्टीको विधि र पद्धतिलाई नमानिरहेको बताए । नेता नेपालले आफ्नो निवास अघि राति मोटरसाइकलमा आएका १५/२० जनाले तर्साउन खोजेको समेत बताए । क्रान्तिकारी भाषणले मात्रै जनताको मन नजितिने बताउँदै नेता नेपालले क्रान्तिकारी कामले जनताको मन जितिने प्रष्ट्याए ।

‘हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो । माधव नेपाल लगायत माननीय सदस्यहरुमाथि जति पनि स्पष्टिकरण सोधिएका छन्, उनीहरुलाई आम माफी दिइन्छ, एम्नेस्टी एज एम्नेस्टी, अनि हामी गद्गद् भयौँ । महाराजाधिराजबाट हामी गद्गद् भयौँ, वाह् वाह् वाह्, महाराजधिराज खुशी हुनुभएछ, हामीलाई आममाफी मिलेछ, नाच्नु पर्ने भयो, खुशी हुनु पर्ने भयो, यही हो कम्युनिष्ट पद्धति ?’ नेपालले भने, ‘स्पष्टिकरण सोध्नु गल्ती थियो, मैले हतार गरेँ गल्ती भयो भनिदिएको भए हाइट घट्थ्यो । मेरो निवासअघि राति मोटरसाइकलमा आएका १५÷२० जनाले तर्साउन खोजे तर माधव नेपाल तर्सिने मान्छे होइन । फलामको जस्तो शरीर हुन्छ कम्युनिष्टको, त्यत्तिकै डराउँदैन ।’

नेता नेपालले ३ साउनमा प्रतिनिधि सभा विघटन गर्ने अर्को षड्यन्त्र सफल पारेको भन्दै आफूसँग जोडिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सलामसमेत गरेका छन् ।

‘केपी ओलीले संसद विघटन गर्ने मेरो कदम ठीक थियो, म दूरदर्शी नेता हुँ, भन्न खोज्नुभयो, तर त्यसलाई हामीले जोगाएका छौँ’ नेपालले भने, ‘संविधानको रक्षा गरेका छौँ, स्वतन्त्र न्यायपालिकाको सम्मान र जायज काम गरेका छौँ, मसँग जोडिएर देउवालाई मत दिने २२ जना सांसदलाई पनि सलाम गर्न चाहन्छु ।’

नेता नेपालले पार्टीमा हाल देखिएको अन्तर्विरोध पदका लागि नभएको समेत बताए ।


प्रतिक्रिया दिनुहोस !