१६ जेष्ठ २०८०, मंगलवार
 |   Tue May 30 2023
Logo

ओलीसँग १७ वर्ष जेल बसेका दुर्गा अधिकारीले नयाँ घर पाए



झापा । देश र जनताको खातिर आफ्नो जीवनको महत्त्वपूर्ण समय समर्पण गरेका झापा मेचीनगरका सानो दुर्गा अधिकारीले नयाँ घर पाएका छन् । दाताले नयाँ घर बनाइदिएपछि विगत लामो समयदेखि डेरा गरी बस्दै आएका अधिकारी दम्पती वृद्धाअवस्थामै भए पनि आफ्नै नयाँ घरमा बस्न पाउने भएका हुन् । लोकतान्त्रिक गणतन्त्र प्राप्तीका लागि १७ वर्ष जेल जीवन बिताएका ७० वर्षीय अधिकारी पछिल्लो समय आर्थिक अवस्था कमजोर हुँदा कष्टकर जीवन बिताउन बाध्य छन् ।

प्रजातन्त्र प्राप्तीको आन्दोलनका क्रममा अधिकारी बर्तमान एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँगै २०३० सालमा पक्राउ परेका थिए । झापा, इलाम, वीरगञ्ज र काठमाडौँका विभिन्न जेलमा बसेका अधिकारी ओलीभन्दा ३ वर्ष बढी जेल बसेर २०४६ सालमा जेल मुक्त भएका थिए ।

अधिकारीसंगै जेल जीवन बिताएका ओलीसहित अन्य थुप्रै नेताहरू पछिल्लो समय देशको उच्च पदमा पुगिसकेका छन् । उनीहरूले ऐसआरम, सुख सुविधा र विलासी जीवन व्यतीत गरिरहँदा यता सानो दुर्गा अधिकारी भने बुढेसकालमा पनि दुःख र अभावका साथ कष्टकर जिवन बिताउन विवश छन् । झापाको मेचीनगर १० स्थित धुलाबारीमा नवनिर्मित भवनमा यहि साउन १४ गते अधिकारी दम्पतीलाई गृह प्रवेश गराउने कार्यक्रम तय भएको माओवादी केन्द्र मेचीनगर १० का अध्यक्ष कृष्ण कौशलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !