८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

केपी ओली पक्षधर युथ फोर्सले माइतीघरमा गरेको फोहोर डा.गोविन्द केसी नेतृत्वको समूहले उठायो (फोटोसहित)



काठमाडौं- नेकपा एमाले केपी ओली पक्षधर युथ फोर्सले माइतीघर मण्डलामा गरेको फोहोर डाक्टर गोविन्द केसी नेतृत्वको समूहले उठाएको छ । शनिबार दिउँसो युथ फोर्सले शक्ति प्रदर्शन जुलुसका क्रममा बाटोमा छोडेका पानीका बोतल, परागका खोल, क्याप, झण्डा तथा झण्डामा प्रयोग हुने लट्ठी लगायतका फोहोर सडकबाट उठाएका हुन् ।

थापाथलीमा रहेको कार्की ब्याङ्केटमा एमालेको राष्ट्रिय युवा संघ अन्तर्गतको युथ फोर्सलाई एमालेका महासचिव ईश्वर पोखरेल युथ फोर्सले आइलाग्ने माथि जाइलाग्ने मात्र हैन समाजमा रचनात्मक काम गर्ने बताइरहेका थिए । यस्तै युवा संघको इन्चार्ज समेत रहेका पूर्वमन्त्री महेश बस्नेतले पार्टीका विरुद्ध लाग्नेलाई ठीक पार्ने र युथ फोर्सले सामाजिक काम गर्ने बताइरहेका बेला डाक्टर गोविन्द केसीको समूह भने माइतीघर मण्डलाको सडक सफा गरिरहेको थियो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चलिरहेको स्वास्थ्यकर्मीको आन्दोलनको समर्थन गर्न माइतीघर मण्डलामा डा.केसीको समूह पुगेका थिए । माइतीघर मण्डलामा पानीको बोतल, पान परागको खोल, फ्रुटी, झण्डा, टोपी लगायतका फोहोर देखेपछि सफाई गरिएको अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।

उनले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने उनीहरुको अधिकार भएपनि अरुको अधिकार पनि हनन गर्न नहुने र आफूले फाहोर मैला गरेको छ भने हिँड्ने बेला आफैले सफाई पनि गर्नुपर्ने अधिवक्ता अर्यालले बताए । उनले भने– ‘कसैले यहाँ आएर प्रदर्शन गर्दै फोहोर गरेर आफै सफा गरेर जानुहुँदैन भने हामी सफा गर्न तयार छौँ । तर यसको मूल्य तपाईहरुले चुकाउनुपर्नेछ ।’

फोहोर सफाई गरिरहेका डा.गोविन्द केसीले यदि आफूले विरोध प्रदर्शन गर्दा त्यहाँ फोहोर भएको छ भने आफैले सफा गर्नुपर्छ भन्ने सन्देश दिनका लागि सफाई गरेको बताए । उनले भने–‘सार्वजनिक स्थानमा फोहोर गरेपछि त्यसलाई फोहोर फ्याँक्ने ठाउँमा राख्नुपर्छ । अर्को कुरा राजनीतिक गर्ने देशका चाहे प्रधानमन्त्री हुन्, चाहे मन्त्री हुन्, चाहे सांसदहरु हुन्, उनीहरुले राजनीतिक अपराध गरे भने हामी त्यसको सफा गर्छौँ ।’ उनीहरुले ३ बोरा फोहोर संकलन गर्दै नगरपालिकाको गाडीमा पठाउनका लागि नजिकै रहेको पसललाई जिम्मा लगाएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !