१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

पार्टीविरुद्ध बोल्ने बुद्धिजीवीलाई मुड्कीले जवाफ दिन्छौँ : महेश बस्नेत



काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले शनिबार युथ फोर्स भ्याली कमाण्ड घोषणा सभामा पटक पटक ‘मुड्की’ काफी रहेको बताए । उनले आफ्ना नेता, कार्यकर्तामाथि हातपात गर्ने, विरोधी र पार्टीविरुद्ध लाग्ने बुद्धिजीवीलाई साइबसर सेनाको मुड्की काफी रहेको चेतावनी दिए । सरकारलाई एमालेको नेताहरु भ्रष्टचारी छन् भने प्रमाणित गरेर देखाउन पनि उनले चुनौती दिएका छन् । १० अर्बको भ्रष्टाचार गर्ने विजयकुमार गच्छादारलाई छाडेको प्रसंग उप्काउँदै उनले एमालेको कहीँ भ्रष्टाचारी भए प्रमाणित गरेर देखाउन चुनौती दिए ।

उनले भने, ‘विजयकुमार गच्छदारलाई १० अर्बको भ्रष्टाचारमा १० लाख धरौँटी दिएर छुटाउनेविरुद्ध सशक्त आन्दोलन गर्छ । हिम्मत छ भने एमालेका समाएर देखाउ, कहीँ भ्रष्टाचारी छन् भने प्रुभ गरेर देखाउँ । काँक्रो चोरेर अदुवा मुखमा लगाएर एमालेको टाउँकोमा लगाई स्याल हुँइया गर्ने दिन सकिए ।’

आफ्ना नेता कार्यकर्तामाथि आक्रमण गर्नेलाई पहिले मुखले तह लगाउने र नमानेको खण्डमा बाँकी नराख्ने पनि उनको चेतावनी छ । ‘हाम्रा नेता कार्यकर्तामाथि कसैले आक्रमण गर्यो भने मुखले सम्झाउँछौँ,’ उनले भने, ‘यदि मुखले सम्झाउँदा मानेन भने हात खुट्टाले पनि सम्झाउनु पर्ने दिन हुन्छ । हात खुट्टाले सम्झाउनुपर्ने दिन नआउँला ।’ युवासंघका इन्चार्ज समेत रहेका बस्नेतले यथुफोर्सले बन्दुक बोकिरहनु नपर्ने र गलत काम गर्नेका लागि मुड्की नै काफी रहेको चेतावनी पनि दिएका छन्। ‘युथफोर्सले कुनै बन्दुक बोक्नुपर्दैन, लालसलाम गर्ने यो मुड्की काफी छ,’ उनले भने, ‘मित्रहरुलाई यो हातले सलाम गर्छ, विरोधीलाई यो काफी छ ।’

यसैगरी आफ्नो पार्टीविरुद्ध लाग्ने बुद्धिजीवीलाई साइबसर सेनासँग मिलेर ठेगान लगाउने पनि चेतावनी दिएका छन् ।‘बुद्धिजीवीविरुद्धको संगठन होइन । बुद्धिजीवीको नाममा कुनै पार्टीको प्रतिनिधि बनेर हाम्रो पार्टीविरुद्ध बिष ओकल्नेलाई युथ फोर्सले साइबर सेनासँग मिलेर बौद्धिक अराजकतावादीहरुलाई ठिक ठाउँमा राख्ने,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !