१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

माओवादी केन्द्रमै फर्किने मूडमा बादल र भट्ट



माओवादी केन्द्रबाट एमालेमा लागेका भेट्रान राजनीतिज्ञहरू अहिले एमालेकै घरझगडाका कारण असमन्जमा देखिन्छन् । उनीहरू तनावमा पर्नुको कारण एमालेको घरझगडा मात्र होइन, अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको ओरालो यात्रा पनि हो ।

सर्वोच्च अदालतले गतसाल फागुन २३ गते नेकपालाई फुटाएर एमाले र माओवादी केन्द्र बनाइदिएपछि माओवादी केन्द्रका रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरी, दाबा लामा लगायतका २३ नेताहरूले एमालेको केन्द्रीय सदस्य खान पुगेका थिए ।

उनीहरूमध्ये कतिपय नेताहरू अहिले एमालेमै रहने कि, नयाँ पार्टी गठन गर्ने या माओवादी केन्द्रमा फर्किने भन्ने बहस चलाइरहेका छन् । बादल र भट्टले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिग्नल दिइसकेका छन् । ‘उतिबेला जे जसो भएपनि अब फेरिएको परिस्थितिमा नयाँ हिसाबले जान हामी तयार छौं भनेर बादल र भट्टबाट सन्देश आएको छ,’ प्रचण्डनिकट स्रोतको दाबी छ ।

उनीहरूले प्रचण्डसँग भेट्न खोजेको भएपनि प्रचण्डले समय दिएका छैनन् । बादल र भट्ट फर्किए मणि, गौरीशंकर र दाबा पनि फर्किने पक्कापक्की छ । टोपबहादुर र प्रभुलाई भने माओवादी केन्द्रमा आउने ढोका बन्द भइसकेको टिप्पणी गर्न थालिएको छ ।

उनीहरूको पछिल्लो गतिविधि माओवादी केन्द्रको विरुद्धमै केन्द्रित रहेको छ । शाहले माओवादी मुक्त देश बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए भने टोपबहादुर पनि कहिले कहिले विवादमा आइरहन्छन् । पछिल्लो समयमा बादल र भट्ट दुवै चुपचाप छन् । उनीहरूको कुनै पनि भनाइ सार्वजनिक भएको छैन । उनीहरू शान्त रहेको यो अवस्थालाई माओवादी केन्द्रमै फर्किने तयारीका रूपमा बुझ्न थालिएको छ ।

माओवादी केन्द्र छाडेर एमालेमा लागेका एक नेताले अनौपचारिक कुराकानीका क्रममा सूत्रन्यूजसँग भनेका छन् – ‘राजनीति हो, जे पनि हुन सक्छ । हामी फर्किने सम्भावना पनि छ र यतै बस्ने सम्भावना पनि छ । नयाँ वैचारिक समूह बनाएर अघि बढ्न पनि सक्छौं ।’

उनले माओवादी केन्द्रका नेताहरूसँग अझै पनि कुरा हुने गरेको तथ्य खुलाए । ‘हामीबीच कुराकानी नहुनुपर्ने विषय के छ र ?’ उनले भने, ‘सबै विकल्पहरूमा कुराकानी भएको छ ।’

यता ओलीनिकट नेताहरूले भने माओवादी केन्द्रमा फर्किन खुट्टा उचालेका नेताहरूलाई बैठकमा नबोलाउनुपर्ने बताउन थालेका छन् । ‘यसै त हाम्रो पार्टी विरुद्ध बाहिर सबै लागिरहेका छन्, उहाँहरू माओवादी केन्द्रमै फर्किने हो भने यता किन आउनुपर्यो ?’ ओलीनिकट एक नेताको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !