७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

नेपालमा भेटियो डेल्टा प्रजातिको नयाँ म्युटेन्ट, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ म्युटेन्ट (डेल्टा) प्रजातिको अर्को नयाँ भेरियन्ट पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट र तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जानकारी दिएको छ । पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीद्धारा जारी विज्ञप्तिमा जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भाग र उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको परीक्षण गर्दा म्युटेन्ट पुष्टि भएको उल्लेख छ ।

भेटिएका भेरिएन्ट र म्युटेन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने देखिएको समेत मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

हेर्नुस् विज्ञप्ति…

स्वाथ्य मापदण्ड पालनामा गम्भीर हुन विज्ञको सुझाव
कोभिडको महामारीबाट जोगिन सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीररूपमा पालना गर्न विज्ञले सुझाएका छन् । उनीहरुले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा हेलचक्य्राइँ गरे एक महिनामा नै सङ्क्रमणको तेस्रो लहर आउने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आज आयोजित ‘कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको सम्भावना, सरकारको पूर्वतयारी’ विषयक अन्तक्र्रियामा जनस्वास्थ्यका विज्ञले अहिले स्वास्थ्यकामा मापदण्ड लागू नहुँदा सङ्क्रमण बढिरहेकाले तेस्रो लहर आउन सक्ने बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा सागरराज भण्डारीले जनस्वास्थ्यका मापदण्ड लागू गर्न हेलचक्य्राइँ गरिएकाले सङ्क्रमण तेस्रो लहर एक महिनाभित्र आउनसक्ने बताए ।

“निषेधाज्ञासँगै जनस्वास्थ्यका मापदण्ड लागू गरिएको पाइएको छैन । जसले गर्दा सङ्क्रमण दिनानुदिन बढ्दो छ”, उनले भने, “यसैगरी सङ्क्रमण नियन्त्रण गर्न हेलचक्य्राइँ गर्ने हो भने तेस्रो लहर एक महिनाभित्र आउँछ ।” नेपालमा पछिल्लो दिन सङ्क्रमण दर बढ्दो छ । सोमबार मात्र आइतबारभन्दा एक हजार १८४ मा सङ्क्रमण बढी देखिएको थियो । सोमबार नेपालमा तीन हजार ४२१ र आइतबार दुई हजार २३७ सङ्क्रमित देखिएका थिए ।

जनस्वास्थ्यविद् डा राजभण्डारीले कोरोना भाइरस अझ केही वर्ष रहन भएकाले मानिसले आफ्नो व्यवहार परिवर्तन गरी कोरोनासँग लड्दै जिउनुपर्ने बताए । यस्तै जनस्वास्थ्यविद् डा वासुदेव पाण्डेले भारतको खुला सीमाका कारणले सङ्क्रमण नेपाल फेरि बढिरहेको बताए । उनले जनस्वास्थ्यमा मापदण्ड लागू गरेर मात्र सङ्क्रमणलाई नियन्त्रण गर्न सकिने धारणा राखे । उनले भाइरस अझ केही वर्ष रहने भएकाले सोहीअनुसारको मानिसको जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताए ।

अर्का जनस्वास्थ्यविद् डा सुन्तरमणि दीक्षितले तेस्रो लहरको जोखिम भएकाले सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्नुपर्ने बताए । उनले खोप जतिसक्दो चाँडो लक्षित नागरिकलाई खोप लगाएर बचाउनुपर्ने बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी असोज तेस्रो सातादेखि सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरेको छ । अहिलेको निषेधाज्ञा खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारीरूपमा लागू नगरिएकाले असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरिएको हो । तेस्रो लहर सङ्क्रामक र बालबालिकालाई बढी असर गर्ने भएकाले मन्त्रालयले सचेत रहन निर्देशन समेत दिइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !