७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा, ६८ लाख ९३ हजार अनियमितता गरेको दावी



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको एक खण्डको ठेक्कामा अनियमितता गरेको आरोपमा आयोगले निर्माण व्यवसायी तथा महादेव खिम्ती निर्माण सेवाका प्रवन्ध सञ्चालक सिंहका साथै मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईंसहित ५ जनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दु्इवटा ठेक्काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरिएको, एउटा ठेक्काबाट विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसारको इष्टिमेट तयार पारिएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्काबाट काम गराई विल तयार पारी भुक्तानी लिने र दिने काम गरी ६८ लाख ९३ हजार ७७८ रुपैयाँ हिनामिना गरिएको दावी अख्तियारको छ ।

व्यवसायी सिंहविरुद्ध ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा विगो माग दावी गरिएको छ । अख्तियारले योजना प्रमुख विजय चापागाईं, तत्कालिन इन्जिनियर दीपककुमार खड्का, तत्कालिन सब इन्जिनियर गजेन्द्रप्रसाद राउतसँग पनि सोही बराबरको विगो दावी माग दावी गरेको प्रवक्ता नारायणप्रसाद रिसालले बताए । तत्कालिन लेखा अधिकृत दुर्णप्रसाद फुयालसँग २१ लाख ४९ हजार ८१८ रुपैयाँ विगो माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय