१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

राष्ट्रियसभामा ‘सङ्घीय निजामती सेवा विधेयक’ पारित गर्न माग



काठमाडौँ । राष्ट्रियसभाका सांसदले ‘सङ्घीय निजामति सेवा विधेयक’ जतिसक्दो चाँडो संसद्बाट पारित गरी जनतालाई सुशासनको अनुभूति दिन माग गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद उदया शर्मा पौडेले भन्नुभयो, “स्थायी सरकार निजामति सेवालाई मनोमानी चलाउनु भनेको पारदर्शीता नहुनु हो, त्यसैले जतिसक्दो चाँडो राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउन र सुशासनको प्रत्याभूति गराउन विधेयक अगाडि बढाउन आग्रह गर्दछु ।”

सांसद प्रकाश पन्थले संविधानमा व्यवस्था भएको समावेशी समानुपातिक व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो । उहाँले अब गठन हुने मन्त्रिपरिषद्लाई समावेशी बनाउन पनि अनुरोध गर्नुभयो ।वर्तमान सरकारसँग जनताको आशा र भरोसा भएको उहाँको भनाइ छ । सांसद देवेन्द्र दाहालले सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्न नहुनेमा जोड दिनुभयो । उहाँले सरकार बाढीपहिरो र विपत्तिमा परेका जनताका सवाल केन्द्रित हुन नसकेको दोष लगाउनुभयो ।

सांसद दिलकुमारी रावलले नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचन कानूनलाई समयअनुसार परिमार्जन गर्नुपर्ने मागसमेत गर्नुभयो ।सांसद गङ्गाकुमारी बेल्वासेले निजामति कर्मचारी सेवा विधेयकलाई छिटो ल्याउनुपर्ने र आयोगमार्फत सुकुम्बासीका समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

उहाँले विगतका सरकारले गरेका राम्रा कामलाई अगाडि बढाउन सरकारसँग आग्रह गुर्नभयो । सांसद इन्द्रिरादेवी गौतमले राजनीतिक स्वार्थका लागि सुकुम्बासी आयोग खारेज गर्न नहुने बताउनुभयो ।सांसद जीतेन्द्रनारायण देव, शान्तिकुमारी अधिकारी, चक्रप्रसाद स्नेही, खिमलाल देवकोटाले मुलुकको समसामयिक विषयलाई उठाउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !