तीन महिनादेखि बन्द रहेको काठमाडौं-नारिता उडान पुनः सुरु हुने भएको छ।
जापान सरकारले सीमित यात्रु संख्याको प्रावधान बनाइदिएपछि नेपाल वायुसेवा निगमको काठमाडौं-नारिता उडान तीन महीनादेखि बन्द छ।
यो गन्तव्यमा आउँदो अगस्टदेखि नियमित उडान सुरु गर्ने योजना रहेको निगमले जनाएको छ। कोभिड अगाडि साताको तीनवटा उडान हुँदै आएको थियो। महामारीको दोस्रो लहरसँगै जापान सरकारले एक पटकको उडानमा ६० जना मात्र यात्रु उडाउन पाइने नियम बनाएको छ।
दुई सय ७४ सिट क्षमताको एयरबस ३३० जहाजमा एक पटकको उडानमा २० प्रतिशत अकुपेन्सीमा उडान गर्दा यात्रु भाडादर बढ्ने भएका कारण तत्कालका लागि उडान बन्द गरिएको निगमले जनाएको छ। नारिताका लागि उडान सुरु गर्न छलफल सुरु भए पनि निगम टुंगोमा पुगेको छैन। सञ्चालन खर्च धान्नेगरी उडान गर्न पाए मात्रै उक्त गन्तव्यका लागि निर्णय हुने निगमका एक अधिकारीले बताए।