७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

रोकिएको इपीएसको काम सुरु हुने, कोरिया जान नपाएकालाई चाँडै पठाउने राजदूतको प्रतिबद्धता



भाषा परीक्षा पास गरी कोरिया जान नपाएका नेपालीहरुको रोकिएको प्रक्रिया पूरा गर्न अर्थमन्त्रीले दक्षिण कोरियाली राजदूतसँग आग्रह गरेका छन्।

नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क चोङ सुकले बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटका क्रममा अर्थमन्त्रीले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे।

कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन समेत आग्रह गरे।

‘इपीएस अन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवाहरु बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु, मन्त्री शर्माले भने।

जवाफमा राजदुत सुकले रोकिएको इपीएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए । नेपालीहरुको मेहनती बानी र इमान्दारिताबाट कोरियाली रोजगारदाताहरु खुशी रहेको प्रसंग उल्लेख गर्दै राजदूत सुकले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरुलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए।

भेटको क्रममा अर्थमन्त्री शर्माले कोभिड-१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे।

उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार समेत प्रकट गरे। कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत लगायतका क्षेत्रमा लगानी समेत गर्दै आइरहेको छ ।

कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिटेक्निक कलेजको स्थापना गर्दैछ। उक्त कलेजले निर्माण क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्नेछ।

राजदूत सुकले कोरियाली लगानी रहेको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको काममा भइरहेको ढिलाइ बारे चासो राखेका थिए। आयोजनामा ढिलाई हुँदा लागत बढ्न जानेतर्फ उनले चिन्ता व्यक्त गरे। मन्त्री शर्माले उक्त आयोजना सरकारको पनि प्राथमिकताको क्षेत्र भएकाले काममा गति दिनेतर्फ पहल गर्ने जानकारी राजदूतलाई दिएका थिए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय