बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज हुँदै गएको छ । तरलता सहज भएसँगै बैंकहरुको आपसी सापटी कारोबार (अन्तर बैंक) ब्याजदर ह्वात्तै घटेको छ ।
यस अवधिमा बैंकिङ प्रणालीमा तरलता समेत ३८ अर्ब ४४ करोड रुपैयाँले थप भएको छ । गत असार ९ गते प्रणालीमा २५ अर्ब ३३ करोड रुपैयाँ तरलता मौज्दात थियो । जुन ३५ दिनको अवधिमा १ सय ५१.८० बिन्दुले थप भएर ६३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।
सरकारले असरमा खर्च बढाउँदा र बैंकहरुको समेत क्लोजिङ कलेक्सनले प्रणालीमा तरलता बढाएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।
‘असारमा सरकारी खर्च, राजश्व संकलन लगायत बैंकहरुको क्लोजिङ, रिकभरीले पनि प्रणालीमा तरलता बढाएको छ,’ उनले भने, ‘संस्थामा प्रसस्त रकम भएपछि अन्तर बैंक कारोबारको आवश्यकता नहुँदा ब्याजदर पनि घटेको हो ।’
नयाँ आवको साउन महिनामा कर्जाको माग समेत नहुने हुँदा बैंकिङ प्रणालीमा मौज्दात रकम बढेको उनको भनाइ छ ।
तर बैंकहरुले प्रणालीमा प्रयाप्त रकम भएपनि अन्तर बैंक कारोबार भने बढाएमा छन् । गत आवकै उच्च ब्याजदर भएको असार ९ गते ७५ करोड रुपैयाँ बराबरको ५ वटा अन्तर बैंक सापटी कारोबार भएको थियो । एक महिनाको अवधिमा अन्तर बैक सापटी कारोबार ५ अर्ब ३ करोड रुपैयाँले बढेको छ ।
हाल अहिलेसम्मै न्यून ब्याजदर हुँदा बैंकहरुले ५ अर्ब ७८ करोड रुपैयाँ बराबरको १४ वटा अन्तर बैंक सापटी कारोबार गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।