११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

ओलीलाई नस्वीकार्ने नेपालको रणनीति, दोस्रो पुस्तालाई नेतृत्व दिएर बिदा हुन तयार



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि विश्वासको वातावरण अझै बनिनसकेको बताएका छन् । आफू पार्टी एकताको पक्षमा रहेको तर, अध्यक्ष केपी शर्मा ओलीले संकटमा परेपछि एकताको हतारो गर्ने, तर फेरि अपमानयुक्त अभिव्यक्ति दिन नरोक्ने गरेको नेता नेपालले बताए ।

आफू एकताको विपक्षमा नरहेको, तर पार्टीमा सबैले सम्मानको अनुभूति गर्ने वातावरण बन्नुपर्ने उनले बताएका छन् । ‘अहंकारविरुद्ध अर्धविद्रोह गरेका हौं । पूर्ण विद्रोह भएको छैन,’ माधव नेपाल भन्छन्, ‘पूर्ण विद्रोह भनेको पार्टी विभाजन हो । एकताको पक्षमा उभिएकाहरु विभाजनमा जानु बाध्यता हो ।’

यदि दुई अध्यक्षमा सहमति भए वरिष्ठ नेता झलनाथ खनाल अर्को अध्यक्ष हुने उनको प्रस्ताव छ । खनाल स्वास्थ्य समस्याका कारण अहिले दिल्लीमा उपचाररत छन् । नेता नेपालले नेतृत्वबारे तीन विकल्प प्रस्ताव गरेका छन् । लगातार आफ्नो समूहका नेताहरुसँग छलफल गरिरहेका नेता नेपालले नेतृत्वबारे छलफल गर्न आफू तयार रहेको जनाएका छन् ।

नेतृत्वबारे विकल्प 

उनी निकट स्रोतका अनुसार नेता नेपालले पार्टी एकता कायम गर्न तीन विकल्प प्रस्तुत गरेका छन् । दोस्रो नभएर समान हैसियतको अध्यक्ष हुनुपर्ने नेता नेपालको अडान छ । साथै ओलीसँगै आफू अध्यक्ष नबन्ने उनले बताएका छन् । यदि दुई अध्यक्षमा सहमति भए वरिष्ठ नेता झलनाथ खनाल अर्को अध्यक्ष हुने उनको प्रस्ताव छ । खनाल स्वास्थ्य समस्याका कारण अहिले दिल्लीमा उपचाररत छन् । ‘दुई अध्यक्ष हुँदा झलनाथ खनाल हुने उहाँ (माधव नेपाल) को कुरा छ,’ एक नेता भन्छन् ।

उनको दोस्रो विकल्प अध्यक्ष मण्डल बनाउने छ । त्यस्तो अध्यक्ष मण्डल बनेमा ओली, खनाल र वामदेव गौतम रहने नेता नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुसँग बताएका छन् । तेस्रो विकल्प ओली र आफू दुवैले पदीय जिम्मेवारीबाट बिदा लिने । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले बिदा लिएपछि नयाँ नेतृत्वले पार्टी चलाउने उनको प्रस्ताव छ ।

गएको २७ असारमा दुवै पक्षका दोस्रो तहका नेताहरु सम्मिलित दश सदस्यीय कार्यदलले दशबुँदे सहमति गरे पनि एमाले विवाद हल हुन सकेको छैन । अध्यक्ष ओली र नेता नेपालले आ–आफ्नो समूहको गतिविधि कायमै राखेका छन् ।

दुई पटक प्रतिनिधिसभा विघटन र पार्टी विभाजन गराउन तयार भएका ओली सुध्रने सम्भावना नरहेको र सहजै पार्टीमा एकता हुने नदेखिएको नेता नेपालले बताउने गरेका छन् । ‘जादुटुना गरेर (पार्टी एकता) होला जस्तो लाग्दैन । हिजो वामदेव कमरेड बालुवा पेलेर तेल निकाल्छु भन्नुहुन्थ्यो,’ उनले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !