८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

हेटौँडाको ऐतिहासिक सुरुङ मार्गको पुनर्निर्माण कार्य शुरु, २०७९ वैशाखसम्म सक्ने लक्ष्य



वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीवार एक समारोहबीच मानव निर्मित एक सय ४ वर्ष पुरानो ऐतिहासिक सुरुङ मार्गको पुनर्निर्माण कार्यको शिलान्यास गरेका छन्।

मकवानपुर र बाराको सिमानामा रहेको चुरीयामाइ सुरुङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले ठेक्का लगाइसकेको छ। नेपाललाई संसारभर चिनाउन मद्दत गर्ने हेटौँडास्थित पहिलो सुरुङको पुनर्निर्माण शुरु गर्न शिलान्यास गरिएको हो।

चुरीयामाइको सुरुङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेगरी हेटौँडा उपमहानगरपालिकाले पनि काम थालेको मेयर हरिबहादुर महतले बताए। उपमहानगरले सुरुङका डिजाइन गर्ने इन्जिनियर डिल्लीजंग थापाको प्रतिमा यसअघिनै राखेको छ। यसको संरक्षण गर्दै विकासको काममा लागिएको मेयर महतले बताए।

सन् १९१७ मा दक्षिण एसियाकै मानवनिर्मित पहिलो सुरुङ चुरियामाई सुरुङ बनेको थियो। श्री ३ चन्द्रशमशेरको पालामा नेपाली इञ्जिनियर डिल्लीजंग थापाले इञ्जिनियरिङ गरेको सुरुङलाई सम्पदाका रुपमा संरक्षणका लागि पुनर्निर्माण गर्न थालिएको हो। यसका लागि माउण्टेन इन्फ्रा कम्पनीको बोलपत्र स्वीकृत भएको छ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले तीन करोड ३६ लाख १३ हजार रुपैयाँ लागतमा पुनर्निर्माण गर्नका लागि माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड काठमाडौंले सम्झौता गरेर काम थाल्न लागेको निर्देशक डा सहदेब बहादुर भण्डारीले बताए। प्रदेशमा भौतिक पूर्वाधार अध्ययन केन्द्रका रुपमा विकास गर्न बहुवर्षीय योजना अगाडि बढाइएको छ। पहिरोले एकापट्टिको भाग पुरिएपछि मार्गको करिब २ सय ८० मिटरमात्र बाँकी रहेर अस्तित्व नै नरहने अवस्थामा पुगेपछि प्रदेश सरकार तातिएको हो।

यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले निर्माण कम्पनीसँग गत बैशाख १९ गते सम्झौता गरिसकेको छ। सुरुङ पुनर्निर्माणको काम भने २०७९ बैशाख १९ गते सक्नेगरी सम्झौता गरिएको निर्देशनालयका सूचना अधिकारी इन्जिनियर हरिप्रसाद ओझाले बताए।

उक्त सुरुङमार्ग निर्माण नगरिएको भए चुरे पहाड हुँदै काठमाडौं जोड्ने बाटो बनाउनु बाध्यता थियो। तर, त्यसो गर्नु भौगोलिक हिसाबले सम्भव थिएन। यसकारण सुरुङ खनेर तराईलाई काठमाडौंसम्म जोडिएको थियो।

सन् १९१७ ताका बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम ऐतिहासिक स्थल भीमफेदीसँग जोड्ने सडक बनाउने बेला तराईबाट काठमाडौं सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङले त्यस बेला नेपालीहरुको जनजीवनलाई निकै सहज बनाएको थियो।

पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ। सुरुङमार्गको दुवैतर्फका भित्तामा लहरैसँग ढुंगाहरु राखिएका छन्, खोपाहरु कुँदिएका छन्। पुरातत्व विभागले सुरुङको ऐतिहासिकता परीक्षण गरिसकेको छ। सुरुङमार्गमा सर्वसाधारणलाई अवलोकन निषेध छ। भुकम्पअघिसम्म हेर्न पाइन्थ्यो। तर, सुरक्षा संवेदनशीलताले बन्द गरिएको छ। उक्त मार्गबाट विसं २०२० सालसम्म सवारी आउजाउ हुने गरेको अग्रजहरु बताउँछन्।

चुरे पर्वतको काखमा रहेको सुरुङ नेपालीहरुको श्रम, सिप, मेहनत र कला कौशलको प्रतिविम्ब भएको चुरियामाईका श्यामकुमार बम्जनले बताए। गुफामा परिणत भएपछि सुरुङ चर्चामा आउन सकेको छैन।

प्रजातन्त्र पुनर्स्थापनापछि त्रिभुवन राजपथ बन्यो। त्यसक्रममा सुरुङमार्गको बीच खण्डमा विष्फोट गराएर भत्काइयो र त्यसमाथि सडक बनाइयो। सडकछेउमा देखिएका सुरुङका मुखहरु थुनिए। तर, मन्दिरनजिक सुरुङको मुख्य भाग भने सग्लै छ। सडकपारिको अर्को भागलाई भने कंक्रिटको घर बनाएर बन्द गरिएको छ।

नेपाललाई राम्ररी चिनेका र सबै जिल्लामा हिँडेर पुगेका स्वीस नागरिक टोनी हेगनले सन्  २००४ मा लेखेको ‘द हिमालयन किङडम अफ नेपाल’ नामक पुस्तकमा सुरुङमार्ग बारे स्पष्ट पार्दै नेपालभन्दा ठूलो भारतले सुरुङ प्रविधि भित्र्याउन नसकेको बेला नेपाल सफल भएकोमा खुशी व्यक्त गरिएको छ।


प्रतिक्रिया दिनुहोस !