१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

जसपा संसदीय दलको नेताको चुनाव शनिबार गर्ने निर्णय



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चुनाव गर्ने भएको छ । विहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता छान्नका लागि चुनाव गर्ने निर्णय गरेको हो ।

तर संसदीय दलको नेताका लागि दाबेदारहरुको टुंगो भने लागिसकेको छैन । सकेसम्म सहमतिमा नेता छान्ने, नभएमा निर्वाचनमा जाने निर्णय भएको हो ।

तीन दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केही नेताहरुको कार्य विभाजनसमेत गरेको छ । जसअनुसार पार्टीभित्र परेका उजुरीहरूको छानविन गर्ने समितिको संयोजकमा नवराज सुवेदीलाई राखिएको छ ।

अनुशासन समितिको संयोजकमा नरसिंह चौधरीलाई राखिएको छ । यसअघि अनुशासन समितिमा लक्ष्मणलाल कर्ण थिए । कर्ण महन्थ ठाकुर पक्षमा लागेका छन् । प्रतिनिधिसभामा जसपाका कुल ३४ सांसदमध्ये २ जना निलम्बित छन् । बाँकी ३२ मध्ये १० जना महन्थ ठाकुर पक्षमा छन् । बाँकी २२ मध्येबाट संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ ।

यस्तै जसपाले पार्टी सुदृढिकरण तथा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बिहीबार बसेको जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले संगठन सुदृढिकरण तथा जागरण अभियान २०७८ पारित गरेको हो ।

भाद्र १ गतेदेखि सुरु हुने अभियान मंसिर मसान्तमा सकिने नेता डम्वर खतिवडाले जानकारी दिए । अभियानका क्रममा समायोजन, सुदृढिकरण, जागरण लगाएतका गतिविधी हुने उनले बताए ।

त्यस्तै बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई चयन गर्ने निर्णय गरेको छ । बैठकले पार्टीमा आउन सक्ने समस्या छानविनका लागि नेता नवराज सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको खतिवडाल बताए । उनले जसपाको अर्को पक्षलाई कारवाही नगरेको र उनीहरु आफैनै आधिकारीक पक्षमा नआएको जिकिर गरे । सरकारमा जाने बिषयमा भने केहि दिनमा टुङ्गो लाग्ने बताए ।


प्रतिक्रिया दिनुहोस !