१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

मेरो कुलपति देउवा होइनन्, ओली नै हुन् : उपकुलपति नन्दबहादुर सिंह



काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह विवादमा तानिएका छन्। सिंहले तीन दिनअघि नेकपा एमालेको केपी शर्मा ओलीनिकट विद्यार्थीहरुसँगको कार्यक्रममा दिएको मन्तव्यको अडियो रेकर्ड बाहिरिएको छ। अडियो रेकर्डमा आफू एमाले पार्टी, केपी ओली र जनताको बहुदलीय जनवादको पक्षधर भएकाले प्रधानमन्त्री तथा विश्वविद्यालयका उपकुलपति शेरबहादुर देउवालाई ‘संसदीय भाषामा मात्रै’ कुलपति मान्ने अभिव्यक्ति दिएका छन्।

‘संसदीय भाषामा भन्दा शेरबहादुर देउवालाई कुलपति भनौंला,’ सार्वजनिक भएको अडियोमा उपकुलपति प्रा.डा. सिंहले भनेका छन्, ‘तर, मेरो कुलपति केपी ओली हो।’ उनले आफ्ना लागि एमाले पार्टी, केपी ओली र जनताको बहुदलीय जनवाद महत्वपूर्ण भएको दावी गरेका छन्। उनले केपी ओलीले लिएको तीन वर्षको राष्ट्रवादी आन्दोलन, त्यसको एकीकृत मनोभावनालाई लिएर जनताको बीचमा जानु आवश्यक रहेको बताएका छन्।

त्यसका लागि सडकमा जानुको विकल्प नभएको उनको भनाई छ। ‘हामी सशक्त भएनौ भने हामीसँग लागेका मानिसहरु भड्किन सक्छन्, आगामी चुनावका लागि त्यो खतरा हुनसक्छ,’ उनले भनेका छन्, ‘हामी संघर्षशील छौं, संगठनको झण्डा लिएर सडकमा जानु आवश्यक छ, अखिल, युवा संघ, शिक्षक, विद्यार्थी, मजदूरलगायतका पार्टीका संगठन एक–एक महिना सडकमा आउँदा ९–१० महिनासम्म सबैको ध्यान तान्न सक्छौं, जनता हाम्रो पक्षमा रहिरहन्छन्।’

उनले यसअघिका उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालालाई ‘कांग्रेससँग लेनदेन नमिलेर’ एमाले पार्टीसँग गुहार मागेको आरोप पनि लगाएका छन्। ‘म आउनुअघिका उपकुलपतिले कांग्रेससँग मिलेर विश्वविद्यालयको पूरै बजेट सिध्याउने काम गरे,’ अडियोमा भनिएको छ, ‘लेनदेन नमिलेपछि मात्रै एमाले भनेर देखिएका हुन्।’ कोइराला उपकुलपति हुँदा रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल थिए।

उपकुलपति सिंहले सामाजिक सञ्जालमा आफू र विश्वविद्यालयले गरेका राम्रा कामहरुको प्रचार गर्न पनि अखिलका विद्यार्थी नेताहरुलाई निर्देशन दिएका छन्। ‘केपी ओलीले के अपराध गरेका थिए र विकास गरेकै थिए,’ सार्वजनिक भएको अडियोमा भनिएको छ, ‘अहिले ममाथि आक्रमण भइरहेको छ, ममाथि आक्रमण हुनु भनेको सिंगो पार्टीपंति माथिको आक्रमण हो, सोसल मिडियामार्फत मैले गरेका र विश्वविद्यालयले गरेका राम्रा कामहरु बाहिर ल्याएर भ्रम चिर्नुहोस्।’

अडियो सार्वजनिक भएपछि उपकुलपति सिंहले बिहीबार पत्रकार सम्मेलन गरेका छन्। उनले पत्रकारहरुसँग सार्वजनिक भएको अडियोलाई ‘एनिमेटेड’ भनेका छन्। ‘सम्माननीय प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाज्यूप्रति अपमान हुने गरी विश्वविद्यालयलाई ध्वस्त पार्ने एउटा गिरोहले फेरि कब्जा गरी मोज गर्न सकिन्छ कि भन्ने गलत उद्देश्यले प्रधानमन्त्री एवम् कुलपतिज्यूको सम्मानमा आँच आउने गरी बनाइएको एनिमेटेड अडियोप्रति घोर भत्सर्ना गर्दछु,’ उनले पत्रकार सम्मेलन गरेर भने, ‘त्यसमा संलग्नहरुलाई सशक्त कारबाहीको पनि माग गर्दछु।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय