आज साउन १५ : खीर खाएर साउने पन्ध्र मनाइँदै « Supremekhabar
Edition
   ४ आश्विन २०७८, सोमबार
 |   Mon Sep 20 2021
Logo

आज साउन १५ : खीर खाएर साउने पन्ध्र मनाइँदै



काठमाडौं । आज साउन १५ गते । आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा चल्दै आएको हो ।

साउने झरी पर्ने बेला तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायतका चिजबिज हालेर बनाइने खीरले हाम्रो शरीरमा उर्जा पैदा गर्छ । यसबाट मानव स्वास्थ्यमा राम्रो हुने भएकाले खीर खाने परम्परा चलेको विश्वास गरिन्छ ।

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउँछन ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा र धेरै घाँस पाइने बेला गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।

साउन भगवान् शिवको महिना पनि हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायतका मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमले बताए । यद्यपी यसको कुनै शास्त्रीय वर्णन भने छैन ।

ऋषिमुनिका पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीहरुले श्राद्धका दिन अनिवार्यरुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।

चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । त्यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही, च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायतका चिजबिज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।

स्वादिष्ट परिकारका रुपमा लिइने खीरको महत्व कोरोना महामारीका बेला झनै बढेर आएको छ । यस्तो बेला दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको गत वर्ष फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय पनि गरेको थियो ।

नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने बोर्डले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


बुटवलका मेयरलाई मुक्का हान्ने युवक पक्राउ



बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् । मेयरलाई मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई सोमबार साँझ प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको डीएसपी मदन कुँवरले जानकारी दिए ।

उनले सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए । पंगेनी पहिरो प्रभावित ज्योतिनगरकै बासिन्दा हुन् । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी उनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन् ।

पंगेनीमाथि अनुसन्धान गरेर दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारकाही हुने डीएसपी कुँवरले बताए । मेयरमाथि मुक्का प्रहार भएपछि बुटवल उपमहानगरपालिका र एमाले बुटवल उपमहानगर कमिटीले पक्राउ गरी कारबाही गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

आगोले पोलेको चार दिनसम्म उपचार नपाएर छट्पटाउँदै एक महिला



उत्तरी गोरखाको धार्चे गाउँपालिका २ रुन्चेतकी गर्बी गुरुङ आगोले पोलेको चार दिनसम्म घरमै छिन्। गत असोज १ गते राती निदाइरहेका बेला खोरमा आगलागी भएपछि १३ वटा बाख्रासँगै ४५ वर्षकी गर्वी गुरुङ जलेकी हुन्। सुतिरहेका बेला गोठमा आगलागी भएको उनको शरीरभरी घाउ नै घाउ छ तर उपचार पाएकी छैनन्।

‘ज्यानभरि जताततै जलेर भाउजुको अवस्था गम्भीर छ’, उनका आफन्त गोपाल घलेले भने। सडक सञ्जालले नजोडिएकाले उपचार गराउन हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। तर आर्थिक अवस्था कमजोर भएका कारण बिरामीको परिवारले हेलिकप्टरमा लैजान सकेका छैनन्।’

आगलागीबाट १४ वटा बाख्रा जलेको थियो। आगलागीबाट खरले छाएको गोठ खरानी भएको छ। त्यहाँ राखिएको दाउरा पनि जलेको स्थानीय गोपाल घलेले बताए।

गम्भीर घाइते अवस्थामा छिमेकी गोठका मानिसले उनको उद्धार गरेका थिए। सोमबार हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरिएपछि खराब मौसमका कारण सम्भव भएको छैन।

सडक सञ्जालले नजोडिएको उत्तरी गोरखामा बिरामी हुँदा, दुर्घटनामा पर्दा स्थानीयले महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। आर्थिक अवस्था कमजोर भएकाहरु समयमै उपचार नपाउँदा ज्यान गुमाउन बाध्य छन्।

प्रतिक्रिया दिनुहोस !

सङ्घीय राजधानी काठमाडौँ बल्ल साक्षर घोषित



काठमाडौँ, ४ असोज (रासस) : सङ्घीय मुलुकको राजधानी काठमाडौँ जिल्ला बल्ल साक्षर घोषित भएको छ । साक्षर घोषणा हुनेमध्ये काठमाडौँ ५५औँ जिल्लामा परेको छ । देशभरबाट आएर बस्ने यहाँका स्थायी र अक्सर बसोबास गर्ने बासिन्दालाई आँकडामा समावेश गरेर यो घोषणा गरिएको छ ।

काठमाडौँका विभिन्न पालिकास्तरमा साक्षर घोषणा भइसकेपछि समग्र जिल्लाको ९६ दशमलव ८८ प्रतिशत साक्षरता भएको मानेर आज जिल्लालाई पूर्ण साक्षर घोषणा गरिएको हो । अब काठमाडौँका १० वटा नगरपालिकामा स्थायी बासिन्दा रहेका साक्षर हुन बाँकी नागरिक १८ हजार ५३ रहेको काठमाडौँका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नन्दलाल पौडेलले जानकारी दिनुभयो । उहाँले उक्त आँकडा दुई वर्ष अघिको भएको र त्यसपछि पनि निरन्तर साक्षरताका कार्यक्रम जारी रहेकाले उक्त निरक्षर सङ्ख्या घट्दो भएको बताउनुभयो ।

काठमाडौँ महानगरपालिका बाहेक अन्य पालिकाले घरधुरी सर्वेक्षणसहित अस्थायी बासिन्दालाई पनि गणना गरेका थिए । चालु आवमा भने साक्षर घोषणा हुने काठमाडौँ पहिलो जिल्ला भएको छ । यसअघि पछिल्लो समय अछाम जिल्ला साक्षर घोषणा भएको थियो भने प्रदेश नं २ का आठ जिल्लासहित अझै २२ जिल्ला साक्षर घोषणा हुन बाँकी छ । साक्षर नेपाल अभियानले १५ वर्ष र ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएका क्षेत्र, जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने मापदण्ड बनाएको छ । नेपालमा २०७२ असार २ गते ९७ दशमलव ६८ प्रतिशत साक्षरतासहित सिन्धुपाल्चोक पहिलो साक्षर जिल्ला घोषणा भएको थियो ।

प्रमुख पौडेलका अनुसार काठमाडौँको शङ्खरापुरमा ९६ दशमलव ०५, कागेश्वरी मनहरामा ९६ दशमलव ९७, गोकर्णेश्वरमा ९५ दशमलव ०४, बूढानीलकण्ठमा ९८ दशमलव ६९, टोखामा ९८ दशमलव ५४, तारकेश्वरमा ९८ दशमलव ०८, नागार्जुनमा ९७ दशमलव ०८, चन्द्रागिरिमा ९६ दशमलव ४७ र दक्षिणकालीमा ९५ प्रतिशत नागरिक साक्षर भएको यसअघि विभिन्न मितिमा घोषणा भइसकेको छ ।

साक्षर काठमाडौँ घोषणा गर्दै वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले तीनै तहका सरकारले साक्षर नेपालको अभियानलाई निरन्तरता दिँदै सीप र रोजगारीमा शिक्षालाई जोड्न सक्नुपर्ने बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले साक्षर जिल्ला घोषणालाई दिगोरूपमा कायम राख्न सक्नु सबैको दायित्व भएको बताउनुभयो ।

मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालका अनुसार साक्षर घोषणा हुन बाँकी जिल्लाका लागि सघनरूपमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सबै नेपाली नागरिकलाई न्यूनतम साक्षरताको अवसर प्रदान गरी ‘साक्षर नेपाल’ अभियान घोषणा गरी वर्ष २०७६ मै साक्षर नेपाल घोषणा गर्ने लक्ष्य लिएको थियो ।

हाल मुलुकमा युवा साक्षरता (१५ देखि २४ वर्ष उमेर समूह) ९५ प्रतिशत र प्रौढ साक्षरता (१५ देखि ६० वर्ष उमेर समूह) ८२ प्रतिशत छ । अभियानअन्तर्गत स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र स्थायी बसोवास गर्ने तोकिएको उमेर समूहका निरक्षर जनसङ्ख्याको नामनामेसीसहित विवरण एकिन गर्ने र विद्यालय, सामुदायिक सिकाइ केन्द्र, स्रोतकेन्द्र, विकास साझेदार गैरसरकारी संस्था, नागरिक समाज, सञ्चारमाध्यम, अन्य साझेदार परिचालन गरी साक्षरता प्रवद्र्धन हुँदै आएको छ । साक्षर नेपालको अवधारणापत्रले राष्ट्रभाषा वा मातृभाषाका वर्ण÷अक्षरको पढाइ र लेखाइ, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बीलको पढाइ, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग, शून्यदेखि नौसम्मका अङ्क अक्षर लेखाइ, एकदेखि १०० सम्म गणना, लेनदेनका हरहिसाब राख्न सक्नेलाई साक्षर मानिने जनाएको छ ।

अवधारणापत्रले साक्षर व्यक्तिले सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक सङ्केत पढाइ र बुझाइ, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन, घडी हेरेर समय बताउन, भित्तेपात्रो हेरी तिथिमिति बताउन तथा बैँक भौचर भराइ र चेक खिचाइ गर्न सक्नुपर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: