१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

कोभिडसँग लड्न नेपाललाई सघाउने चिनियाँ राजदूत याङ्छीको भनाइ, थप १६ लाख डोज चाँडै आउने



अर्थमन्त्री जनार्दन शर्माले कोभिडविरुद्धको खोप सरकारको प्राथमिकता भएकाले यसको खरिद प्रक्रियामा सघाउन चीनलाई आग्रह गरेका छन्।

नेपालका लागि चिनिया राजदूत होउ याङछीसँगको भेटमा मन्त्री शर्माले चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएकाले त्यस कार्यमा राजदूतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे। उनले चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार समेत प्रकट गरे ।

राजदूत होउले पनि चीनबाट थप खोप आयातमा सघाउन तयार रहेको अर्थमन्त्रीलाई बताइन।

अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुनर्निर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि  धन्यवाद दिँदै आगामी दिनमा पनि चिनियाँ सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त व्यक्त गरे।

मन्त्री शर्माले चिनियाँ सहयोगमा नेपालमा संचालित विभिन्न आयोजनाहरुको कार्यन्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्यसम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिबद्धता जनाए।

उनले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधीन परियोजनाहरु सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताए।

चिनियाँ  राजदुत होउले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आएपनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने बताइन।

चिनियाँ जनता र त्यहाँको कम्युनिष्ट पार्टीसँग नेपाली जनता र यहाँका राजनीतिक दलहरुको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदुत होउले कोभिड महामारीविरुद्धको लडाइमा आफूहरु नेपालको साथमा रहँदै आएको भन्दै सघाउने प्रतिबद्धता जनाइन।

चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने राजदूत होउको भनाइ छ।

यस्तै भूकम्पपछिको पुनर्निर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाहरुलाई सहयोग गरेको र आधाजसो काम सकिएको जानकारी दिँदै उनले दरबार हाइस्कुलको पुनर्निर्माण सकिएको, वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाहरुको काम पनि चाँडै सम्पन्न गरिने आश्वासन दिइन।


प्रतिक्रिया दिनुहोस !