संघर्षरत उखु किसानहरुले पुनः राजधानी (काठमाडौं) केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संयुक्त किसान संघर्ष समितिले भदौ ५ गतेसम्म किसानहरुको बाँकी सम्पूर्ण भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिँदै आन्दोलनको घोषणा गरेको हो ।
वर्षौवर्ष देखिको आफुहरुको करिब ९० करोड रुपैयाँ बराबरको उखुको भुक्तानी चिनी मिलले नदिएको भन्दै दोस्रो पटक गत वर्ष २०७७ साल पुसमा सरकार गुहार्न काठमाडौं आएका किसानहरुलाई सरकारले पुस १३ गते ५ बुँदे सहमति गरेर पठाएको थियो । सरकार र किसान बीचको उक्त सहमति अनुसार २१ दिनभित्र चिनी मिलहरुले सम्बन्धित किसानहरुको बाँकी सम्पूर्ण भुक्तानी दिने र नदिए त्यसको जिम्मेवारी उद्योग मन्त्रालयको हुने गरी सरकारले सहमति दिएको थियो ।
संघर्षरत उखु किसानहरुको दावी अनुसार विभिन्न चिनी उद्योगहरूबाट गरी कुल ९० करोड रुपैयाँ बराबरको भुक्तानी बाँकी रहेतापनि सो मध्ये २५ करोड विवादित रहेको र बाँकी ६५ करोड रुपैयाँ चिनी उद्योगहरुले भुक्तानी गर्नुपर्ने भनेपनि सो रकम समेत हालसम्म आफुहरुले पूर्ण रुपमा पाउन नसकेको संघर्ष समितिको आरोप छ ।