१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

एसएसबीले तुइन काटेर नेपाली युवा वेपत्ता बनेको घटनामा कांग्रेसको आपत्ति



महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक युवा वेपत्ता बनेको घटनाबारे नेपाली कांग्रेसले चासो व्यक्त गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय सुरक्षा बल एसएसबीले तुइन काटेर भएको घटनालाई अमानवीय र आपत्तिजनक भन्दै दुख व्यक्त गरेका छन् ।

व्यास गाउँपालिकाबाट भारतको उत्तराखण्ड राज्यको पांगलहुंदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा काटिदिएपछि ३५ वर्षका युवा जयसिंह धामी वेपत्ता भएका थिए । एसएसबीका जवानले तुइन काटिदिएका उनी नदीमा खसेको समाचारमा जनाइएको छ ।

शर्माले जारी गरेको विज्ञप्तिमा पार्टीका जिल्ला सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको थप सम्पर्कपछि त्यही विवरण केन्द्रमा प्राप्त भएको उल्लेख गरेका छन् । नदी तर्ने क्रममा तुइन नदीमा खसेर बेपत्ता भएको घटना दुःखद मात्रै नभएर अमानवीय र आपत्तिजनक भएको विज्ञप्तिमा जनाइएको छ ।

‘घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन र दिलाउन नेपाली कांग्रेस पार्टीका तर्फबाट म सरकार समक्ष माग गर्दछु,’ विज्ञप्तिमा भनिएको छ,‘ आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास लिएको छु ।’


प्रतिक्रिया दिनुहोस !