१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

काठमाडौं-तराई फास्टट्रयाक: १६ प्रतिशत काम सकियो



काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ मा कुल विनियोजित रकमको ९७.३५ प्रतिशत कार्य प्रगति भएको नेपाली सेनाले बताएको छ ।

शुक्रबार नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ को वार्षिक कार्यप्रगति स्थिति तथा चालु आ.व. ०७८/७९ को वार्षिक कार्यक्रम प्रस्तुत गर्दै आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले गत आ.व. २०७७/७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएकोमा वार्षिक प्रगति ९७.३५ प्रतिशत भएको जानकारी दिए ।

उनले आ.व. ०७६/७७ सम्म समष्टिगत भौतिक प्रगति ११.११ प्रतिशत रहेकोमा गत आ.व. ०७७/०७८ मा आयोजनाको कुल कार्य अंशको थप ५.१० प्रतिशत काम सम्पन्न भएको बताए । त्यस्तै आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा १६.१० प्रतिशत प्रगति हासिल भएको उनले स्पष्ट पारे ।

आयोजनाको स्वीकृत डिपिआर अनुसार १७५ अर्ब लागत अनुमान रहेकोमा आयोजनाको सुरुबाट हालसम्म कुल बजेट खर्च २५ अर्ब ३९ करोड रुपैयाँ भएको उनले बताए । आयोजनाको हालसम्मको भौतिक प्रगति १६.१० रहेको आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले बताए ।

आयोजनाको कुल लम्वाई ७२.५ कि.मी.मध्ये ३ वटा सुरुङ मार्गको जम्मा लम्वाई ६.४१ कि.मी., विभिन्न पुलहरूको लम्बाई १०.५९ कि.मी. र खुद सडक खण्डको लम्बाई ५५.५ कि.मी. रहेको जानकारी दिदैँ पोखरेलले यसमध्ये आयोजनाको ४४.१ कि.मि. सडक खण्डको सब ग्रेड लेभलसम्म तयार गर्न समष्टिगत कार्य हालसम्म ९० प्रतिशत सम्पन्न भएको बताए ।

आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन सुपरिभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता आयोजना अवधिभरका लागि छनौट भई विषय विज्ञहरुसहितको टोलीले फिल्ड सर्भे लगायतका कार्यहरु सुचारु गर्न विभिन्न ठेक्का प्याकेजको टेन्डर डकुमेन्ट तयार गर्ने काम भइरहेको उनले बताए । आयोजनामा पर्ने ३ सुरुङ मार्ग महादेवटार, धेद्रे र लेनडाँडाँ सुरुङ खण्डमा प्रोजेक्ट म्यानेजर, विषय विज्ञहरुको डिजाइन टिम लगायतका समूहले कार्य प्रारम्भ गरेको उनले बताए । पुल निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !