६ चैत्र २०८०, मंगलवार
 |   Tue Mar 19 2024
Logo

सम्पर्कविहीन’ सांसद विमला वली दाङका एसपीको सम्पर्कमा



काठमाडौं । सम्पर्कविहीन भएको भनिएकी लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री (वली)प्रहरीको सम्पर्कमा आएकी छन् । दाङ ३ (ख) बाट निर्वाचित सांसद विमला बेपत्ता भएको भन्दै उनी आवद्ध माओवादी केन्द्रले खोजी थालेको थियो। उनी दाङ प्रहरी प्रमुख सुरेश काफ्लेको सम्पर्कमा आएकी छन् ।

एसपी काफ्लेले सांसद विमला आफ्नो सम्पर्कमा भएको दावी गरेका छन् । ‘मैले हिजो राति र आज बिहान फोन गरेको छु,’ एसपी काफ्लेले भने, ‘कान र घाँटीमा समस्या देखिएकाले उपचारका लागि नेपालगन्ज आएकी छु भन्नुभएको छ । उहाँ सम्पर्कमा नै हुनुहुन्छ ।’विमलाले बिरामी भएकाले कसैको फोन नउठाएको बताएको एसपी काफ्लेले बताए । माओवादी केन्द्रले भने आफ्नो पार्टीका नेतासँग विमला सम्पर्कविहीन भएको भन्दै खोजी गरिरहेको छ ।

प्रदेशसभा सदस्य खत्री शुक्रबार बिहानदेखि सम्पर्कविहीन बनेको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताए । ‘बिहीबारसम्म हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो, हिजो बिहानदेखि फोन पनि लागिरहेको छैन्,’ चौधरीले भने, ‘फोनको लोकेसन जाँच गर्दा कहिले दाङ देखाउँछ, कहिले बुटवल देखाउँछ, उहाँको कुनै पनि फोन लागेको छैन ।’ओली केहीदिन अघि मात्रै दाङ आएकी थिइनन् । दाङ आएपछि सम्पर्क विहीन बनेको चौधरीले बताए । उनले भने, ‘अहिले ओलीसँग भएका दुईवटै मोवाईल नम्बरमा सम्पर्क हुँदैन । एनटिसीको नम्बर अफ छ, भने एनसेलको नम्बरमा सम्पर्क हुन सकेन भन्छ ।’

उनले अगाडि थपे, संसदीय दलको वैठकमा उपस्थित हुन सबै माननीय ज्यूलाई फोन गरेर सूचना दिने क्रममा विमलाजीसँग सम्पर्क हुन सकेको छैन । उहाँको घरमा जाँदा र निर्वाचन क्षेत्रभर खोज्दा पनि भेटिनुभएको छैन, पार्टीको सम्पर्कमा हुनुहुन्न, खोजी कार्य जारी छ, प्रहरीमा उजुरि पनि गर्छौ ।

दाङ क्षेत्र नं. ३ (ख)का प्रदेश सांसद उत्तरकुमार वली (विमलाका श्रीमान)को निधनपछि विमलालाई उपचुनावमा पार्टीले टिकट दिएर जिताएको थियो ।तत्कालिन नेकपाबाट निर्वाचित उनले एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किँदा माओवादी केन्द्र रोजेकी थिइन् । तर पार्टीको शनिबार हुने संसदीय दलको बैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद थारुले बताए ।

विमलाले एमालेमा गएपनि पुग्दैन बहुमत

मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीले माओवादी केन्द्र छाडेर एमाले रोजेको हुन सक्ने माओवादीले आशंका गरेको छ ।माओवादी केन्द्रका सांसद थारुले सरकार अल्पमतमा परेकाले सरकार टिकाउने विमलालाई मुख्यमन्त्रीकै मान्छेले दबाब र प्रलोभनमा पारेर सम्पर्क विहीन बनाएको हुन सक्ने आरोप लगाए  ।

जसपाबाट मन्त्री बनेका तीन जना सांसद शुक्रबार पदमुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा परेका छन् ।विमला एमालेमा फर्के पनि सरकारलाई बहुमत पुग्ने अवस्था छैन । मुख्यमन्त्रीको पक्षमा एमालेका ३८ सांसद मात्र छन् भने विपक्षी गठबन्धनमा ४१ मत छ । विमला एमालेमा फर्के पनि सरकारलाई बहुमत पुग्ने अवस्था छैन ।प्रदेशमा नयाँ प्रदेश प्रमुख आएसँगै विपक्षी गठबन्धन विशेष अधिवेशनको समावेदन गरी मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा रहेको काँग्रेस प्रदेश सभा सदस्य डिल्ली चौधरीले बताए ।

गत बैशाख १९ गते उनले पत्रकार सम्मेलन गरेर आफूले स्वेच्छाले माओवादी रोजेको घोषणा गरेकी थिइन् । एमालेले भने विमला पार्टीको संसदीय दलको बैठक र जिल्ला कमिटीको बैठकमा सहभागी भएको दाबी गर्दै विमलाले माओवादी केन्द्र रोज्न नपाउने भन्दै आएको छ ।केही दिनअघि जनता समाजवादी पार्टीकी सांसद पुरमति ढेंगालाई पनि सत्ता पक्षले आफूतिर तान्ने प्रयास गरे पनि सफल हुन सकेको थिएन ।

तत्कालीन नेकपा विभाजन भएपछि बहुमत गुमाएका मुख्यमन्त्री पोखरेलले जसपाका चार जनालाई सरकारमा सहभागी गराएर बहुमत पुर्याएका थिए । तर असार १८ गते भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि सरकार अल्पमतमा परेको थियो ।


प्रतिक्रिया दिनुहोस !