७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

काठमाडौंबाट वीरगञ्ज बोलाएर लुटपाट गरी साथीकै हत्या, तीन जना पक्राउ



काठमाडौंबाट आफ्नै साथीलाई वीरगञ्ज बोलाएर लुटपाट गरी हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सर्लाही लालबन्दी नगरपालिका–१ घर भई काठमाडौंको गोंगबु बस्ने वर्ष २७ का सुजन भन्ने ज्ञानु पाख्रिनलाई वीरगञ्ज बोलाइ हत्या गर्ने मृतकका आफ्नै साथीहरू पक्राउ परेका हुन् ।

गएको १३ साउनमा पाख्रिनलाई साथीहरूले वीरगञ्ज बोलाएर सुनको सिक्री लुटपाट गरी भोलिपल्ट हत्या गरेको अवस्थामा शव बरामद भएको प्रहरीले जनाएको छ । सो हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाख्रिनका साथीहरू वीरगञ्ज नगरपालिका–७ रामटोलका राहुल महर्जन, रामटोलकै विक्की भन्ने दीप लामा र बारा फेटा गाउँपालिका–३ का धनन्जय रजकलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न भारत विहारका रवि सर्साफ फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पाख्रिनलाई मादक पदार्थ सेवन गराई त्यसको भोलिपल्ट बिहान साँढे एक बजे थप बीयर किन्न जाने बहानामा रामटोलस्थित एकान्त स्थानको खाली जग्गामा लगेका थिए ।

त्यसपछि पाख्रिनको घाँटीमा लक लगाइ घाँटी अठ्याइ हत्या गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ । मृतकको सुनको सिक्री, सुनको औँठी, घडी र नगद १० हजार लुटपाट गरेका उनीहरूले प्रहरीलाई बयान दिएका छन् । त्यसबेला नियमित गस्तीमा घटनास्थल नजिक पुगेको प्रहरी टोलीले निजहरूमध्ये ३ जनालाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको थियो ।

उनीहरूमाथि थप अनुसन्धान गर्दा दीप लामाले घटनास्थलनजिकै नालामा लुकाएको मृतकको सुनको सिक्रीको टुक्रा बरामद भएको र उनीहरूले पाख्रिनको हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता तथा डीएसपी ओम प्रकाश खनालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !