१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

ओलीलाई माधबको सुझाव : फेरि अध्यक्ष बन्न तिकडम नगर्नुहोस्



काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न सचेत गराउनुभएको छ ।

अखिल फोर्सले शनिबार काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता नेपालले जे गरे पनि पारदर्शी हुनुपर्ने बताउनुभयो । प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको फैसलाप्रति आफ्नो सम्मान रहेको दोहोर्याउनुभयो । आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै नेता नेपालले आफूहरू मैदान छोडेर नभाग्ने स्पष्ट पार्नुभयो ।

निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो । म नै सर्वेसर्वा भन्ने भावनालाई अस्वीकार गर्दै सबै खालका अराजक प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा नेता नेपालले जोड दिनुभयो ।

फरक प्रसंगमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई घोषणामै मात्र आनन्दिन नहुन सुझाव दिनुभयो । प्रधानमन्त्री देउवाले कोरोनाको प्रकोपलाई नियन्त्रण गर्न खोप ल्याउने आफ्नो प्राथमिकता घोषणा गरेको स्मरण गर्दै नेपालले वचन दिने तर काम नगर्ने परिपाटीलाई त्याग्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा एमालेकी नेतृ रामकुमारी झाक्रीले अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !