१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

दोस्रो पटकको बाढीले पनि तहसनहस बन्यो मेलम्ची



सिन्धुपाल्चोक । डेढ महिनाको अवधिमा मेलम्ची खोलामा दोस्रो पटक आइतबार आएको भीषण बाढीले हेलम्बु–मेलम्ची किनारको करिब ४० किमि क्षेत्रलाई थप तहसनहस बनाएको छ । बाढीले बस्ती, मोटरेबल पुल, सडक र खेतीयोग्य जमिन बगाएको छ । खोला छेउछाउ बस्दै आएका बासिन्दा झन् जोखिममा परेका छन्

बाढीले चनौटेस्थित मेलम्ची खोलामाथिको मोटरेबल पुल (रातोपुल) बगाउँदा हेलम्बुसँगको यातायात सम्बन्ध पूर्णरूपमा विच्छेद भएको छ । हेलम्बु गाउँपालिकाका किउल, शेर्माथाङ, मेलम्चीघ्याङ, तार्केघ्याङ, तिम्बु, सर्कथली, घ्याङ्गुललगायतका बस्ती पुग्न यो पुल एकमात्र सहारा थियो । मेलम्ची खानेपानी आयोजनाको मुहानमा फेरि क्षति गरेको छ । बाढीले मुख्य बस्ती रहेका हेलम्बुको तिम्बुदेखि बोल्दे, किउल, गणेशेबगर, चनौटे, पाल्चोक, ग्याल्थुम, तालामाराङ हुँदै मेलम्ची बजार आसपासका क्षेत्रको ठूलो भाग कट्टान गरेको छ । यहाँका बजार र खेतीयोग्य जमिन गरी २० किलोमिटर क्षेत्र बगरमा परिणत भएको छ । गत असार १ मा आएको बाढीले बचेका भौतिक संरचनालाई थप क्षति गरेको छ ।

हेलम्बु गाउँपालिका–१ स्थित सेमेसिदाङ हिमशृंखलाको काख भेमाथाङ बगरबाट सुरु भएको पहिरोले पुरिएको मेलम्ची खोला थुनिँदै, खोलिँदै गरेर शनिबार राति र आइतबार आएको बाढीले हेलम्बु र मेलम्चीको ग्याल्थुम जोड्ने झोलुंगे पुलसहित १२ वटाभन्दा बढी घर बगाएको छ । ग्याल्थुम बजारका ४० घरसहित तिम्बु, चनौटे र मेलम्ची बजारका बासिन्दा जोखिममा परेका छन् ।

हेलम्बु क्षेत्र जान गोरेटोसमेत छैन । बाढीको सतह बढिरहेकाले तत्काल वैकल्पिक मार्ग बनाउन सक्ने सम्भावना देखिँदैन । पुल नहुँदा यहाँको करिब १० किलोमिटर आसपासका बासिन्दा चारदेखि पाँच घण्टाभन्दा बढी समय जंगलको गोरेटो हिँडेर मात्रै गाउँ आउजाउ गर्न सक्छन् ।

असारमा आएको बाढीबाट विस्थापितको व्यवस्थापन नहुँदै अर्को समस्या थपिएको स्थानीयले बताएका छन् । असारको बाढीले बगाएका नेपाली र विदेशी गरी २० जना अझै बेपत्ता छन् । एक नेपाली र तीन विदेशी मृत फेला परेका थिए । मेलम्ची र हेलम्बुका तीन सयभन्दा बढी परिवार विस्थापित भएका थिए । मेलम्चीदेखि हेलम्बुको नाकोतेसम्मका चारवटा मोटरेबल तथा ७ वटा झोलुंगे पुल असारकै बाढीले बगाएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय