कर र कमिसनले पेट्रोलियम पदार्थको मूल्य दोब्बर, अन्त्यमा भारजति जनताको थाप्लोमा « Supremekhabar
Edition
   २ आश्विन २०७८, शनिबार
 |   Sat Sep 18 2021
Logo

कर र कमिसनले पेट्रोलियम पदार्थको मूल्य दोब्बर, अन्त्यमा भारजति जनताको थाप्लोमा



काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढ्ने क्रम रोकिएको छैन । विभिन्न किसिमका कर र कमिसन, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि र नेपाली मुद्राको बढ्दो अवमूल्यनले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । मूल्य वृद्धिसँगै नेपाल आयल निगमको घाटा पनि बढिरहेको छ । प्रतिलिटर १२८ रुपियाँ पुगेको पेट्रोलको मूल्य कम्तीमा १४० सम्म पुग्ने अनुमान गरिएको छ । नेपाल आयल निगमलाई प्राप्त पछिल्लो मूल्यसूचीअनुसार १५ दिनमा कुल एक अर्ब २१ करोड रुपियाँ घाटा भएको छ । पेट्रोलमा प्रतिलिटर १० रुपियाँ, डिजेलमा प्रतिलिटर पाँच रुपियाँ र एलपी ग्यासमा प्रतिलिटर ४४२ रुपियाँ घाटा भइरहेको निगमका प्रवक्ता विमितमणि उपाध्यायले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७५ अमेरिकी डलर पुगेको छ ।

पेट्रोल डिजलमा खरिद मूल्यभन्दा बढी कर उठाइएको छ । पेट्रोलियम पदार्थको कर र कमिसनका कारणले पनि उपभोक्ता दोब्बर मूल्य तिर्न बाध्य छन् भने निगम घाटा बेहोर्न बाध्य छ । निगमले प्रतिलिटर ६९ रुपियाँ ८५ पैसामा पेट्रोल खरिद गरेर १२८ रुपियाँमा बिक्री गरेको छ तर पेट्रोलबाट हाल प्रतिलिटर १० रुपियाँ घाटा भइरहेको प्रवक्ता उपाध्यायको भनाइ छ । निगमले डिजेल प्रतिलिटर ६४ रुपियाँ ६० पैसामा खरिद गरी १११ रुपियाँमा बिक्री गर्छ ।खरिद गरिएको पेट्रोलियम पदार्थमा विभिन्न कर तथा कमिसन जोडिएका छन् । निगमले आफ्नो प्रशासनिक खर्च भनेर प्रतिलिटर ६० पैसा उठाउँछ । ढुवानी भाडाबापत प्रतिलिटर चार रुपियाँ ५७पैसा लिइन्छ । पम्पहरूलाई कमिसन प्रतिलिटर तीन रुपियाँ ३९ पैसा पेट्रोल र प्रतिलिटर तीन रुपियाँ १२ पैसा डिजेलमा दिइन्छ । पूर्वाधार विकास कर प्रतिलिटर १० रुपियाँ लिइन्छ ।

वातावरण प्रदूषण कर प्रतिलिटर एक रुपियाँ ५० पैसा उठाइएको छ । साथै भन्सार शुल्क, सडक मर्मत, आयकर, बैङ्कको ब्याजलगायतका सवाल पनि यसैमा समेटिएको छ । जसका कारण दोब्बर मूल्य तिर्न उपभोक्ता बाध्य छन् । प्रवक्ता उपाध्याय भन्नुहुन्छ, “निगम खरिद गर्ने र बिक्री गर्ने निकाय मात्र हो, सरकारले तोकेको मूल्य र करअनुसार निगमले बेच्ने हो । ” निगमका अनुसार पेट्रोलिय पदार्थमा घाटा बेहोर्नुको अर्को कारण एलपी ग्यास हो । निगमलाई हाल एलपी ग्यासबाट प्रतिसिलिन्डर ४४२ रुपियाँ घाटा भइरहेको छ । एलपी ग्यास प्रतिसिलिन्डर एक हजार २८८ रुपियाँमा खरिद गरी एक हजार ४२५ रुपियाँमा बिक्री गरिन्छ । हवाई इन्धन र मट्टीतेलमा भने घाटा छैन तर हाल मट्टीतेल र हवाई इन्धनको कारोबार नभएकोले पनि घाटा बढिरहेको निगमले जनाएको छ । प्रवक्ता उपाध्यायले भन्नुभयो, “अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढेको छ । बढेर आएको मूल्य सर्लक्कै वृद्धि गरिएको छैन । कर, कमिसन र शुल्कहरूले पनि प्रभाव पारिरहेको छ । २०७७ सालमा नाफामा गएको निगम त्यसपछि निरन्तर घाटामा गइरहेको छ । हवाई इन्धनमा सामान्य नाफा छ तर कोरोनाले गर्दा बिक्री छैन । ”निगमका अनुसार १५ दिनमा डिजेलमा करिब ३७ करोड रुपियाँ, पेट्रोलमा २४ करोड रुपियाँ र एलपी ग्यासमा ६६ करोड रुपियाँ घाटा छ ।


प्रतिक्रिया दिनुहोस !


एउटा प्रदेशी जिन्दगी, प्रदेशमै जान्छ प्राण अनि पखेरु !



लमजुङका यी २२ बर्षे युवाको नाम डेल्सन थापा मगर हो । अनि उनले छोई रहेको सेतो बाकसभित्र उनका बुबा गोबिन्द कुमार थापा मगरको लास छ । डेल्सन ३ बर्षको हुँदा मलेसिया गएका गोबिन्द लामो समयसम्म परिवारसँग सम्पर्कमा आएनन् ।

३ र ५ बर्षका दुई छोरा छोडेर सम्पर्कहिन बनेका उनकी श्रीमती यही पिरले बितिन् । बैदेशिक रोजगारीमा गएको शुरुवाती समय र अन्ततिर गोविन्द सम्पर्कमा त आए तर त्यसबेला उनलाई असाध्य बिमारले च्यापिसकेको थियो । उनलाई पेनाङका नेपालीको सहयोगमा नेपाल पठाउन एयरपोर्ट पुर्याईयो ।

दुर्भाग्य, एयरपोर्ट पुग्नासाथ उनी बेहोस भएर ढले । फर्काएर अस्पताल भर्ना गरियो । तर, तिनदिन पछि गोविन्दले पराई भुमीमा नै प्राण त्याग गरे । गोविन्दका कान्छा छोरा डेल्सन काठमाडौमा सामान्य रोजगारी गर्छन् । जनउद्धार केन्द्र, मलेसियाका साथीहरुले डेल्सनलाई सम्पर्क गरेर सोधे -‘लास नेपाल लाने कि यतै सद्गती गर्ने ?’

जिवनमा बाबुको अनुहार समेत नदेखेका उनले भने- ‘लामो समयसम्म सम्पर्कहिन हुनुभयो । त्यही पिरले मम्मीपनी बित्नु भो । मलाई त बाबुको अनुहारपनि याद छैन । १९ बर्षसम्म कहाँ, के गर्नुभो, के समस्या पर्यो । कसरी बिरामी पर्नु भो, केही थाहा छैन । तर जे भएपनी जन्मदिने बाबू हुन् , एकपटक अनुहार हेर्न पाए हुन्थ्यो !’

तर, लास ल्याउन सक्ने डेल्सनको आर्थिक अवस्था थिएन । उनलाई फुपुहरुले सहयोग गरिरहेका थिए । जिन्दगीमा कहिल्यै बाबुको अनुहार प्रतक्ष देख्न नपाएको छोराको एकपटक बाबुको अनुहार हेर्ने अन्तरईच्छालाई अन्तत: जनउद्धार केन्द्र मलेसिया र अन्य समाजसेवीले पूरा गरिदिनु भयो ।

परदेशमा गुमनाम रहेको एउटा नेपालीको लास अर्को नेपालीको सहयोगमा आज नेपाल आईपुग्यो । छोराले बाबुको अनुहार हेरे । दिवंगत देहले आफ्नै जन्मभुमीको माटोमा समाहित हुन पायो । यसकालागी जनउद्धार केन्द्र, केशु थापा, सुनिल श्रेष्ठ, बिरस पुन, देवेन्द्र गिरि लगायत धन्यबादको पात्र छन् । यो अभियानको निरन्तरको सारथि हुन पाउँदा हामी पनि खुसी छौँ ।

तर, परदेशमा कंक्रिटका जङ्गल, जङ्गलका गल्ली र गल्लीका कुना, भित्तामा कति गोविन्दहरु गुमनाम बाँचिरहेका हाेलान् ! देशका कुना काप्चामा कति श्रीमती र सन्तानहरु बाबु फर्कने बाटो कुर्दै बसेका होलान् ! बैदेशिक रोजगारीमा गएका तर घर परिवारबाट सम्पर्कहिन भएकाहरुको सूची मन्त्रालय, बिभाग, दुताबास वा बोर्डसँग हाेला कि नहोला !?

प्रतिक्रिया दिनुहोस !

भीम रावललगायतका नेताहरु भगौडा हुन्, युद्ध अपराधीलाई जनताले माफी गर्दैनन् : झाँक्री



सिन्धुली। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेतालाई भगौडाको संज्ञा दिएकी छन् । शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उहाँले लडाइँबाट भाग्ने भगौडाहरूलाई फेरि पार्टीमा ल्याएर नेता मान्न नसकिने बताएकी हुन् । कार्यक्रमलाई संवोधन गर्दै उनले युद्धबाट भाग्नेहरुलाई फेरि मोर्चामा ल्याएर कमान्डर बनाउन नसकिने बताउँदै युद्धबाट भागेका युद्ध अपराधीलाई जनताले माफी गर्न नदिने बता्ईन् ।

झाँक्रीले संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास रहेकाले यदी युद्दबाट भाग्ने भगौडाहरूले सरेन्डर गरेर हामी मोर्चामा सामेल हुन्छउँ भनेर आएको खण्डमा ढोका खुला रहने बताएका हुन् । विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्किएका थिए । झाँक्रीले उनीहरुलाई युद्द अपराधी र भगौडाको संज्ञा दिँदै कमान्डर मान्न नसकिने बताईन् ।

प्रतिक्रिया दिनुहोस !

चुनावपछि सत्ता गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिन्छ : ओली



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले खर्बौं रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरु हेरफेर गरेको आरोप लगाएका छन् । शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अर्बौंको चलखेल गरेको बताएका हुन् ।

आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उनले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि उल्लेख गरे । उनले भने, ‘आज देखिन थाल्या छ, सोझै सेटिङमा कसलाई भन्सार छुट दिने, कसलाई भन्सार नदिने, के गर्ने कसो गर्ने भन्ने यो अरबौँको खेल भइसक्यो । कसरी यतिबेर यो बिचमा आएर करका दरहरु यत्रो ठुलो ढंगले देशलाई करोडौँको, अर्बौंको मात्र होइन खर्बौको तलमाथि पर्नेगरी कसरी हेरफेर गरियो । सबै सेटिङ होइन भन्न सकिने ठाउँ छैन । मान्छेहरु खुलेआम भनिराखेका छन् यो सेटिङ हो सञ्चार माध्यम लेखिराखेको छ बोलिराखेको छ सेटिङ भयो । भएन भन्ने ठाउँ छैन । म राष्ट्रसेवक कर्मचारी मित्रहरूलाई, तपाईहरुलाई भन्न चाहान्छु खासगरी नेपाल निजामती कर्मचारी संगठन स्वच्छताको प्रतीक संगठन बन्नुपर्छ ।’

अध्यक्ष ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्ला जस्तै भएको टिप्पणी गरे । चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उनले १४ महिनापछि बाध्यकारी रुपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने बताए । अध्यक्ष ओलीले आफ्नो पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुलाई जुनसुकै पार्टीको भएपनि वर्तमान सरकारलाई सहयोग गर्न निर्देशन दिए । कर्मचारीहरुले कुनै पार्टीको सदस्य नभएर राष्ट्रको सेवकको रुपमा सेवा पु¥याउनुपर्ने उनले बताए । सेवाग्राहीको सेवा पाउने अधिकार भएकाले कर्मचारीको सेवा दिनुपर्ने कर्तव्य ठानेर काम गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: