८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

आफ्ना सबै ब्यापार ब्यवसायबाट अलग्गिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा, सरकारी सुविधा पनि नलिने



स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गुरेका छन्। सोमबार मन्त्रालयमा ‘सार्वजनिक स्वास्थ्य र कोभिड महामारी नियन्त्रणबारे २३ बुँदे नीतिगत प्रतिवद्धता र कार्ययोजना’ सार्वजनिक गर्दै श्रेष्ठले सुरक्षाकर्मीबाहेकका कुनै पनि सेवासुविधा नलिने घोषणा गरेका हुन्।

उनले पदमा बहाल रहँदा स्वार्थ बाझिने उल्लेख गर्दै व्यापार–व्यवसायमा आफू संलग्न नहुने समेत बताएका छन्।

‘स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यावसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु। पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा संलग्न नहुने यसै प्रतिवद्धतापत्रमार्फत् सार्वजनिक गर्न चाहन्छु। हालसम्म म संलग्न हुँदै आएका व्यवसायको कार्यकारी तथा पदीय भूमिका कानुनीरुपमा नै त्याग गरिसकेको छु।’ राज्यमन्त्री श्रेष्ठले भने, ‘सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सेवासुविधामध्ये सुरक्षाकर्मीबाहेक सवारी साधन, आवास, तलबभत्तालगायतका कुनै पनि पारिश्रमिक, भत्ता र सुविधा नलिने घोषणा गर्दछु।’

श्रेष्ठले सबै नेपाली नागरिकलाई आगामी चैत्र मसान्तसम्म कोभिड खोप लगाईसक्ने योजना पनि सार्वजनिक गरे। नेपाली जनताको जीवन रक्षा गर्नु आफ्नो सर्वोच्च प्राथमिकता हुने उल्लेख गर्दै उनले चैत्र मसान्त भित्र सबै नेपालीलाई खोप लगाई सक्ने बताए।

कार्य योजनामा खोप खरिद, त्यसको व्यवस्थापन र वितरण प्रणालीमा अविलम्ब सुधार गरी निर्धारित समयभित्रै सबै नागरिकलाई खोप लगाउने प्रतिवद्धता समेत व्यक्त गरिएको छ। उनले दोस्रो डोज खोपको पर्खाईमा रहेका ज्येष्ठ नागरिकलाई छिट्टै खोपको व्यवस्था गर्ने पनि बताए। त्यसका लागि ‘खोप कूटनीति’लाई उच्च प्राथमिकता दिएको उनले बताए।

कार्य योजनामा कोभिड १९ को तेस्रो लहरको सामना गर्नका लागि समय तालिकासहितको विशेष रणनीति र कार्ययोजना सार्वजनिक गर्ने उल्लेख गरिएको छ।

श्रेष्ठले कोभिड १९ को तेस्रो लहर आउन नदिन जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि सबै नेपालीलाई आह्वान गरेका छन्। उनले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्नका लागि स्थानीय सरकारसँग समन्वय गरी आगामी श्रावण २३ गते देखि २९ गतेसम्म ‘नेपाल मास्क सप्ताह’ आयोजना गरी आम नागरिकलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्ने जानकारी पनि दिए।

‘निकट भविष्यमा आउन सक्ने कोभिड १९ को तेस्रो लहर सामना गर्नका लागि समय तालिकासहितको विशेष रणनीति र कार्ययोजना अविलम्ब सार्वजनिक गरिनेछ। कोभिड १९ को तेस्रो लहर फैल्न सक्ने जोखिमलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्ड राम्रोसँग पालना गर्न सम्पूर्ण नेपालीहरुलाई अपिल गर्छु,’ श्रेष्ठले भने, ‘सबै नागरिकलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन आगामी श्रावण २३ गतेदेखि २९ गतेसम्म ‘नेपाल मास्क सप्ताह’ आयोजना गरिनेछ।’

उनले कोभिड १९ नियन्त्रण र रोकथामका लागि गरिएको कामलाई चुस्त र प्रभावकारी बनाउन विज्ञहरुको समूह गठन गर्ने योजना पनि अघि सारेका छन्। राज्यमन्त्री श्रेष्ठले अघि सारेको २३ बूँदे कार्य योजनामा कोभिड संक्रमितहरुको उपचारका लागि आवश्यक अस्पताल र उपकरणहरुको तत्काल व्यवस्था गर्ने पनि समावेश गरिएको छ।


प्रतिक्रिया दिनुहोस !