१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

भदौ पहिलो सातादेखि लाइसेन्स ट्रायल खुलाउने तयारी, नयाँ व्यवस्था लागू हुने



यातायात व्यवस्था विभागले भदौ पहिलो सातादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल खुलाउने तयारी गरेको छ।

कोभिड महामारी जोखिम कम हुँदै गए भदौको पहिलो सातादेखि ट्रायल खुलाउने तयारी गरिएको विभागका महानिर्देशक नमराज घिमिरेले बताए।

‘ट्रायल तथा लिखित परीक्षा नयाँ व्यवस्थाअनुसार लागू हुन्छ। अगाडि नै लिखित परीक्षा दिएर बसेकाहरूको हकमा पुरानै व्यवस्था लागू हुन्छ,’ महानिर्देशक घिमिरेले भने।

लाइसेन्सका लागि यातायात व्यवस्था विभागले लिखित तथा ट्रायल परीक्षाको नयाँ व्यवस्था सार्वजनिक गरिसकेको छ।

लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ (वर्ग ‘क’, ‘ट’ (ए/के) मोटरसाइकल/स्कुटर/मोपेड र वर्ग ‘ख’ (बी) कार/जीप, डेलिभरी भ्यानका लागि २०७७ चैत १९ गते स्वीकृत भएको थियो।

 

सो कार्यविधि निर्देशिका २०७८ जेठ १ गतेदेखि लागू भए पनि कोभिडका कारण ट्रायल तथा लिखित परीक्षा हुन नसकेपछि कार्यान्वयनमा भने आउन सकेको छैन।

निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन्।

निर्देशिकाले परीक्षार्थीले आफ्नै सवारी प्रयोग गर्न सक्ने व्यवस्था समेत गरेको छ। ‘प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले परीक्षा दिन आफैंले सवारी साधन व्यवस्था गर्न सक्नेछन्’, निर्देशिकामा भनिएको छ।

यसअघि कार्यालयले तोकेका र उपलब्ध गराएका सवारी मात्रै प्रयोग गर्न पाउने व्यवस्था थियो ।


प्रतिक्रिया दिनुहोस !