१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

महाकाली घटनाबारे संसद्‍मा गृहमन्त्रीको जवाफ : छानबिन टोली दार्चुला पुगिसक्यो, भारतलाई पत्राचार



काठमाडौ ।  गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदीमा तुइन तर्दा जयसिंह धामी बेपत्ता भएको विषयमा मन्त्रालयले गठन गरेको छानबिन टोली दार्चुला पुगेको बताएका छन् । सो टोलीले १० दिनभित्र प्रतिवेदन बुझाउने गृहमन्त्री खाँणले बताए ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सभामुखसँग सार्वजनिक महत्त्वका विषयमा बोल्न समय माग गर्दै उनले घटनाबारेमा जानकारी गराएका छन् । उनले दार्चुलाको ब्यास गाउँपालिका मालघाटमा साउन १४ गते जयसिंह धामी महाकाली नदीमा तुइनबाट नदी तर्ने क्रममा ज्यान गएको भन्दै नरेन्द्रसिंह धामी लगायत ३ जनाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको उल्लेख गरे ।

घटना लगतै सशस्त्र प्रहरी नायव निरीक्षक बृर्जसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द, राष्ट्रिय अनुसन्धान दार्चुलाका विक्रमसिंह भाट सहित ३ जनाको टोली स्थलगत छानबिनका लागि घटनास्थल खटिएको र जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई सो घटनाबारे ध्यानाकर्षण गराउँदै पत्राचार गरेको गृहमन्त्री खाँणले सदनलाई जानकारी गराए ।

बहादुरसिंह धामी, गौरासिंह धामी लगायत ४ जना जयसिंह धामी भन्दा अगाडि नै तुइन तरी पारी पुगेकाहरूसँग जानकारी लिने काम भइरहेको उनको भनाई छ । पुल तर्न बाँकी रहेका ४ जनालाई जिल्ला सदरमुकाम बोलाई जानकारी लिने काम भइरहेको मन्त्री खाँणले उल्लेख गरे । दार्चुलामा रहेका विभिन्न सुरक्षा अङ्ग तथा भारतीय सुरक्षाकर्मी एसएसबीको तर्फबाट पनि  बेपत्ता भएको धामीको खोजको काम भइरहेको मन्त्री खाँणले बताए ।

यस्तै साउन १७ गते मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा र दार्चुलाका सहायक जिल्ला अधिकारी जोत्सना भट्टको छानबिन समिति बनाएको र १० दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको बताए । छानबिन टोली दार्चुला पुगेको  उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !