७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

नयाँ सरकार बनेपछि प्रचण्डले भनेका थिए- अब कुलमान घिसिङ ल्याउने



केपी ओली सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि  माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड निकै प्रशन्न थिए। उनले त्यस दिन घरैमा सेलिब्रेसनसमेत गरेका थिए।

त्यतिबेलै प्रचण्डले अब नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङमा ल्याउने बताएका थिए।

प्राधिकरण उर्जा मन्त्रालय अन्तर्गत पर्छ। उर्जामा माओवादी केन्द्रकी नेता पम्फा भुषाल मन्त्री छिन्।

सेलिब्रेसनमा भनेको कुरा प्रचण्डले बिर्सिसकेका थिए। उनलाई यसबारेमा सम्झना गराएपछि प्रधानमन्त्री देउवासँग कुरा गरेका थिए। त्यसपछि प्रधानमन्त्री देउवाको उपस्थितिमा भुषालले  हितेन्द्र शाक्यलाई राजीनामा गरेर मार्ग प्रशस्त गर्न भनेका थिए।

कुलमान ल्याउनुअघि मुकेश काफ्ले प्राधिकरण प्रबन्ध निर्देशक थिए। उनी कांग्रेस निकट पनि थिए। तर मन्त्रालय माओवादीसँग थियो। त्यसबेला देउवाले काफ्लेलाई राजीनामा गर्न भनेका थिए। कुनै राम्रो ठाउँमा नियुक्ति दिने आश्वासन दिएर राजीनामा गर्न लगाएका थिए। काफ्लेलाई जसरी नै प्रधानमन्त्री देउवाले शाक्यलाई अर्को ठाउँमा नियुक्ति दिने भन्दै अहिले राजीनामा गर्न आग्रह गरेका थिए।

मंगलवार उर्जा मन्त्री पम्फा भुसाललाई देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रकृया थाल्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

शाक्‍य अघि कुलमान घिसिङ नै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक थिए। लोडसेडिङ अन्त्य गरेको जस पाएका घिसिङको कार्यकाल सकिएपछि फेरि उनलाई नै कार्यकारी निर्देशकमा पुनर्नियुक्त गर्न दबाब थियो। तर, केपी शर्मा ओली सरकारले शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

आफ्नो ४ वर्षे कार्यकाल सकिनै लाग्दा आफूले गरेका काम र अर्को कार्यकालका लागि नियुक्ति दिएमा गर्न सक्ने कामको सूची बनाएर प्रधानमन्त्रीलाई भेट्न तीन महिनासम्म कुर्दा पनि ओलीले भेट्न नदिएपछि गत भदौ २८ मा घिसिङ प्राधिकरणबाट बाहिरिएका थिए।

सरकारले पुनर्नियुक्ति नदिएपछि ‘घिसिङ नै चाहिन्छ’ भन्दै काठमाडौंसहित देशका विभिन्न ठाउँमा आन्दोलन नै भएको थियो। आन्दोलनमा प्रहरी हस्तक्षेप र बल प्रयोगले सहभागीहरु घाइते हुन थालेपछि घिसिङले विज्ञप्ति जारी गर्दै आन्दोलन नगर्न आग्रह गर्नुपरेको थियो।

घिसिङलाई माओवादी नेता तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको नेतृत्वमा ल्याएका थिए। उनको बहिर्गमनको समयमा ऊर्जामन्त्री वर्षमान पुन थिए। अहिले शर्मा अर्थमन्त्री छन्।


प्रतिक्रिया दिनुहोस !