६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

निर्वाचन आयोगद्वारा ४१ दल खारेज, ९५ कायम



काठमाडौं । निर्वाचन आयोगले पटकपटक ताकेता गर्दासमेत वार्षिक आयव्यय विववरण नबुझाउने र कानुन पालना नगर्ने ४१ दल खारेज गरिदिएको छ । आयोगको मंगलबार बसेको बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने ती दल बुधबारबाट लागू हुनेगरी दर्ता खारेज गरेको हो ।

दर्ता खारेज हुनेमा अखण्ड नेपाल पार्टी, हाम्रो नेपाल पार्टी, राष्ट्रिय चुरेभावर पार्टी, राष्ट्रिय शिवसेना पार्टी, नेपाली कांग्रेस राष्ट्रवादी, चुरेभावर राष्ट्रिय पार्टी, हिन्दू प्रजातान्त्रिक पार्टी लगायत छन् । यी दलको नाम, झण्डा, चिह्न दर्ता एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने निर्णयसमेत गरेको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

४१ दल खारेजीपछि आयोगमा १ सय ३६ दल दर्ता रहेकोमा अब ९५ मात्र कायम रहने उनले बताए । आयोगले दर्ता खारेज राजनीतिक दल केन्द्रीय पदाधिकारी र सदस्यको नामनामेसीसहितको छुट्टाछुट्टै विवरण तयार गरी जरिवाना रकम ५० हजार सरकारी बाँकीसरह असुलउपर गर्न कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहल काठमाडौंमा लेखी पठाएको छ ।

आयोगको पत्रमा जरिवाना असुलउपर नभएसम्मको अवधिका लागि खारेज भएका दलका केन्द्रीय पदाधिकारी तथा सदस्यले नयाँ दल दर्ता गर्न र आयोगमा दर्ता कायम दलको पदाधिकारी बन्न नपाउनेसमेत बताएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम आयोगमा दर्ता दलले आयव्ययको वास्तविक हिसाबकिताब देखिनेगरी लेखा राख्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र कानुनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट परीक्षण गराई एक महिनाभित्र आयोगमा पेस गर्नुपर्ने व्यवस्था छ ।

अवधि समाप्त भएको ४५ दिनभित्र त्यस्ता दललाई लेखा परीक्षण प्रतिवेदन पेस नगर्नुको कारण खुलाई स्पष्टिकरण आदेश दिन सक्ने र स्पष्टिकरण पेस गर्नुपर्ने भन्ने व्यवस्था ऐनमा छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिमको कसूर एकपटकभन्दा बढी गरेमा वा दिएको आदेश एक वर्षभित्र पालना नगरेमा वा तोकिएको जरिवाना नबुझाएमा त्यस्ता दलको दर्ता खारेज गर्नसक्नेसमेत कानुनी व्यवस्था छ ।

दर्ता खारेज दल
१. राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी
२. राष्ट्रिय जनएकता पार्टी
३. हाम्रो पार्टी
४. नयाँ संघीयता जनधारणा पार्टी
५. मातृभूमि नेपाल पार्टी
६. नेपाल नागरिक पार्टी
७. नागरिक समाजवादी पार्टी
८. देशभक्त पर्यावरणीय सामाजिक (देपसा)
९. नेपाल न्यायिक दल
१०. अखण्ड नेपाल पार्टी
११. युवा शक्ति नेपाल पार्टी
१२. हाम्रो नेपाल पार्टी
१३. राष्ट्रिय चुरेभावर पार्टी
१४. राष्ट्रिय शिवसेना पार्टी
१५. श्रमिक जनता पार्टी–नेपाल
१६. नेपाः राष्ट्रिय पार्टी
१७. नेपाल प्रजातान्त्रिक प्रगतिशील पार्टी
१८. मधेस समता पार्टी नेपाल
१९. नेपाली कांग्रेस राष्ट्रवादी
२०. चुरेभावर राष्ट्रिय पार्टी
२१. हिन्दू प्रजातान्त्रिक पार्टी
२२. राष्ट्रिय पुनर्जागरण पार्टी
२३. युवा नेपाल पार्टी
२४. लिबरल डेमोक्रेटिक पार्टी
२५. नयाँ पिपुल्स पार्टी
२६. नेपाल लोकतान्त्रिक जनता कांग्रेस
२७. नेपाल गणतान्त्रिक एकता पार्टी
२८. तराई पहाड हिमाल समाज पार्टी
२९. चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल
३०. राष्ट्रिय जनता दल नेपाल
३१. लोक कल्याणकारी जनता पार्टी नेपाल
३२. बौद्धिक जनतान्त्रिक परिषद्, नेपाल
३३. राष्ट्रिय श्रमिक नागरिक पार्टी
३४. मूलबासी मुक्ति पार्टी
३५. देशभक्त लोकतान्त्रिक पार्टी
३६. संघीय लिम्बुवान, नेपाल
३७. नेपाल श्रमिक शक्ति पार्टी
३८. किरात खम्बुवान लोकतान्त्रिक पार्टी
३९. दलित मुस्लिम जनशक्ति पार्टी
४०. जनता पार्टी
४१. आजाद जनता पाटी


प्रतिक्रिया दिनुहोस !