७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

दार्चुला घटनामा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ : माओवादी



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिएकै कारण जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको बताएका छन् ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले प्रारम्भिक तथ्यहरुका आधारमा एसएसबीले नै घटना घटाएको निष्कर्षमा पुग्न सकिने बताए । उनले अघि भने, ‘यो अमानीय, उत्पीडनकारी र क्रुर कार्यको भर्त्सना गर्नुपर्छ । भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ ।’

घटनामा संलग्न दोषीहरुलाई तत्काल कारबाही गर्नुका साथै हेपाहा प्रवृत्ति नदोहोर्‍याउनु पर्ने उनको माग छ ।

छानविन समिति बनाएर परिपक्व कूटनीतिद्वारा सम्वाद गर्ने र आवश्यक पर्दा अडान लिने सरकारको बाटो ठीकै भएको उनले बताए । तर प्रतिवेदन ल्याउन ढिला गर्न नहुने भन्दै उनले भने, ‘प्रतिवेदन छिटो ल्याएर भारत सरकारसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्ने, दोषीमाथि कारबाहीको माग गर्ने र पीडित परिवारलाई राहतका लागि तत्काल कदम चालोस् ।’

पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले आफूहरुले अहिले पनि भारतसँग असल मैत्रपूर्ण सम्बन्ध कायम होस् भन्ने चाहेको बताए । दुई देशबीच रहेका समस्या वार्ता र सम्वादको बाध्यमबाट हल गर्न चाहेको पनि उनले बताए ।

तर राष्ट्रिय स्वाधीनता, सार्वभौमत्तामाथि अतिक्रमण कुनै हालतमा स्वीकार्य नहुने भन्दै उनले भने, ‘राष्ट्रिय राजनीतिमा केही मतभेद भए पनि राष्ट्रियताको मामिलामा हामी एक छौं । हेपाहा व्यवहार र अतिक्रमण सहने छैन ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय