बाढीले मेलम्चीको पानी आउने मिति सर्‍यो « Supremekhabar
Edition
   ४ आश्विन २०७८, सोमबार
 |   Mon Sep 20 2021
Logo

बाढीले मेलम्चीको पानी आउने मिति सर्‍यो



काठमाडौँ  ।  मेलम्ची खोलामा आइतबार राति आएको बाढीले निर्माणाधीन सडक संरचना बगाएपछि मेलम्ची खानेपानी सम्पन्न हुने मिति थप अनिश्चित बनेको छ । हेलम्बुको क्युल क्षेत्रमा निर्माण भइरहेको करिब २ किमि सडक पछिल्लो बाढीका कारण क्षतिग्रस्त बनाएपछि मेलम्चीको पानी काठमाडौं पुर्‍याउने लक्ष्य प्रभावित भएको मेलम्ची खानेपानी आयोजना प्रमुख रामकुमार श्रेष्ठले जनाए ।

‘आयोजनालाई त खास क्षति पुर्‍याएको छैन,’ उनले भने, ‘तर हेलम्बु गाउँपालिकासँग समन्वय गरेर निर्माण भइरहेको बाटो ध्वस्त भयो । अब वर्षापछि मात्र काम सञ्चालन गर्ने कि भन्ने सोचाइमा पुगेका छौं,’ उनले भने । श्रेष्ठले प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिलाई बाढीबाट मेलम्ची खानेपानी आयोजनामा पुगेको क्षतिबारे जानकारीसमेत दिइसकेको बताए । आइतबार बसेको विकास समिति बैठकले मेलम्चीको थिल्लो क्षेत्रको भौगर्भिक अवस्थाको अध्ययन गरिदिन एसियाली विकास बैंक (एडीबी) लाई पत्राचारसमेत गरेको छ । ‘माघसम्म पानी ल्याउन हामीले कार्ययोजना बनाएका थियौं तर अब त्यो पनि पूरा नहुने भयो,’ उनले भने ।

यसअघि आयोजनाले असोज ७ गतेभित्र पहुँच मार्गको कार्य प्रारम्भ गर्ने, असोज १५ भित्र हेडवर्क्स क्षेत्रको ढुंगा, गिट्टी, बालुवा र माटो हटाउने, कात्तिक १५ भित्र अम्बाथान पोर्टल खुला टनेलको निरीक्षण गर्ने, पुसभित्र कफर ड्याम निर्माण सम्पन्न गरी माघ ७ भित्र पानी पथान्तरण गर्ने कार्ययोजना सरकारलाई बुझाएको थियो । असार १ मा मेलम्चीमा आएको बाढीले बजारदेखि हेडवर्क्ससम्मको करिब २१ किमिमध्येको ८ किमि सडक संरचना पूरै बगाएकाले त्यो रुटमा गाडी सञ्चालन हुन सकेका छैनन् ।

‘केही स्थानमा त सडक नामो निसान छैन,’ प्रमुख श्रेष्ठले भने, ‘तत्काल करिब ३० करोड रुपैयाँ सरकारले सडक निर्माणका लागि दिएमा सुरुङमा पानी हाल्न सकिन्थ्यो । सधैं बाढी आयो भने कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिराखेका छौं ।’ पहिलोपटकको बाढीले आयोजनामा १ अर्ब ८८ करोड रुपैयाँ बराबरको क्षति पुगेको उनले जनाए ।

‘निर्माण सामग्री हेलिकप्टरबाट लग्ने कि भन्नेबारे पनि छलफल भइरहेको थियो । त्यो पनि अब नहुने भयो,’ उनले भने । सडक मार्गबाटै हेडवर्क्ससम्म सामग्री पुर्‍याउन मेलम्चीको पानीको सतह नघटेसम्म समस्या हुने भन्दै उनले कामदार पठाउनसमेत नसकिने जनाए । ‘त्यो क्षेत्रमा कामदारलाई कहाँ राख्ने भन्नेसमेत टुंगो लगाउन गाह्रो छ,’ उनले भने, ‘पहिलेका संरचना कुनै बाँकी छैनन् । अझै बाढी आउने आशंका उस्तै छ ।’ असार १ देखि भदौ अन्तिमसम्म आयोजनाका भौतिक संरचना मर्मत गर्ने भन्दै सुरुङमा पानी पथान्तरण नगर्ने निर्णय गरेको थियो ।

बाढीले बारम्बार परियोजना प्रभावित भएकाले मेलम्चीको पानी कहिलेसम्म काठमाडौं आउला भन्नेमा आयोजनाका अधिकारी नै अन्योलमा छन् । ‘हेडवर्क्स (बाँध), सुरुङ, सडक, पुललगायत मुहानको संरचना क्षतविक्षत अवस्थामा छ,’ मेलम्चीका एक अधिकारीले कान्तिपुरसँग भने, ‘सडक निर्माण भए एउटा खाका तयार हुन्थ्यो । सडक नै छैन । पानी यही मितिमा आउँछ भन्न निकै गाह्रो छ ।’ आयोजनाको पहलले मात्र केही नहुने भन्दै उनले राष्ट्रियस्तरबाट सोच्नुपर्ने बताए । अस्थायी रूपमा पानी पथान्तरण गर्न पनि तत्काल भौतिक तथा पूर्वाधार मन्त्रालय, नदी नियन्त्रणमा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहयोग गर्नुपर्ने आयोजना प्रमुख श्रेष्ठको धारणा छ ।


प्रतिक्रिया दिनुहोस !


आगोले पोलेको चार दिनसम्म उपचार नपाएर छट्पटाउँदै एक महिला



उत्तरी गोरखाको धार्चे गाउँपालिका २ रुन्चेतकी गर्बी गुरुङ आगोले पोलेको चार दिनसम्म घरमै छिन्। गत असोज १ गते राती निदाइरहेका बेला खोरमा आगलागी भएपछि १३ वटा बाख्रासँगै ४५ वर्षकी गर्वी गुरुङ जलेकी हुन्। सुतिरहेका बेला गोठमा आगलागी भएको उनको शरीरभरी घाउ नै घाउ छ तर उपचार पाएकी छैनन्।

‘ज्यानभरि जताततै जलेर भाउजुको अवस्था गम्भीर छ’, उनका आफन्त गोपाल घलेले भने। सडक सञ्जालले नजोडिएकाले उपचार गराउन हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। तर आर्थिक अवस्था कमजोर भएका कारण बिरामीको परिवारले हेलिकप्टरमा लैजान सकेका छैनन्।’

आगलागीबाट १४ वटा बाख्रा जलेको थियो। आगलागीबाट खरले छाएको गोठ खरानी भएको छ। त्यहाँ राखिएको दाउरा पनि जलेको स्थानीय गोपाल घलेले बताए।

गम्भीर घाइते अवस्थामा छिमेकी गोठका मानिसले उनको उद्धार गरेका थिए। सोमबार हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरिएपछि खराब मौसमका कारण सम्भव भएको छैन।

सडक सञ्जालले नजोडिएको उत्तरी गोरखामा बिरामी हुँदा, दुर्घटनामा पर्दा स्थानीयले महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। आर्थिक अवस्था कमजोर भएकाहरु समयमै उपचार नपाउँदा ज्यान गुमाउन बाध्य छन्।

प्रतिक्रिया दिनुहोस !

गाई काट्ने १० पक्राउ



नेपालको राष्ट्रिय जनावर गाई काटेको आरोपमा मकवानपुर प्रहरीले १० जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रहरी उक्त स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा बकैया–११ कालिदमारका ३८ वर्षीय जनकबहादुर लो, सोही स्थानका ३५ वर्षीय राज लो, ४० वर्षीय रवीन्द्र लो, सिमाटार बस्ने ४५ वर्षीय राजकुमार घलान, ४८ वर्षीय प्रलादभक्त न्यासुर, च्याउच्याउ बस्ने १९ वर्षीय सोमार भोलन, ५० वर्षीया सञ्चमाया भोलन, १६ वर्षीय सन्देश विक, ४० वर्षीय सुनबहादुर तामाङ, ३६ वर्षीया फुलमाया थिङ रहेका छन् । उनीलाई गाई काटेको सूचनाका आधारमा आइतबार साँझ पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सोमबारदेखि १० हिमाली जिल्लामा खोप



काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई सोमबारदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ती जिल्लाका १८ वर्षभन्दा माथिका सबैलाई सोमबारदेखि यही असोज १४ गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्राको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षभन्दा माथिका सबैलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालिएको हो । सरकारले शुक्रबारमात्र चीन सरकारबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको थियो ।

यस्तै, काभ्रे र चितवनमा पनि १८ वर्ष भन्दा माथि छुटेका विद्यार्थी र ३५ वर्षमाथिका सबैलाई खोप लगाउन थालिएको छ । उनले अभियानकै क्रममा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाम जिल्लामा ४० वर्ष माथिका खोप लगाउन बाँकी र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाइने छ ।

यस्तै, मनाङ, मुस्ताङ र पूर्वी रुकुम बाहेकका ५५ जिल्लामा ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि अभियानकै क्रममा खोप लगाइने उनले बताए । पहिलो मात्रा खोप लगाइसकेका लागि कात्तिक ४ देखि कात्तिक १४ गतेसम्म भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गरिने छ ।

सोमबारैदेखि यसअघि पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राको खोप अभियान पनि सञ्चालन गरिएको छ । दोस्रो मात्रा सोमबारदेखि असोज ६ गतेसम्म काठमाडौं जिल्लामा सञ्चालन भइरहेको छ ।मन्त्रालयले खोप लगाउनका लागि आफ्नो परिचय खुल्ने परिचय पत्र लिएर जान समेत अनुरोध गरेको छ । अहिलेसम्म नेपालमा पहिलो मात्रा ६२ लाख तीन हजार ३१६ जनाले र पूर्णमात्रा ५५ लाख ७८ हजार ८६५ जनाले लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: