१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कुलमानले छाडेपछि विद्युत प्राधिकरणको नाफा ८ अर्बले घट्यो



 हितेन्द्र शाक्यलाई हटाएर कुलमान घिसिङलाई ल्याउनु पर्ने बहस चलिरहेका बेला नेपाल विद्युत प्राधिकरणको नाफा साढे ८ अर्ब रुपैयाँले घटेको छ। गत आर्थिक वर्ष प्राधिकरणले सवा तीन अर्ब रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ।

अघिल्लो वर्ष ११ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा गरेको थियो। गत आर्थिक वर्ष नाफा तीन अर्ब १६ करोड रुपैयाँमा सीमित भएको छ। कर अघिको नाफा पाँच अर्ब ७२ करोड रुपैयाँ भएपनि कर पछिको खुद नाफा भने तीन अर्ब १६ करोड ५८ लाख ९० हजार रुपैयाँ मात्रै रहेको प्राधिकरण स्रोतले जनाएको छ। अघिल्लो वर्ष कर अघिको नाफा १३ अर्ब २७ करोड रुपैयाँ रहेको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले डेडिकेटेड फिडरको महसुल खारेज गरेका कारण साढे तीन अर्ब रुपैयाँ नाफा घटेको बताएका छन्।

चुहावट बढेका कारण थप डेढ अर्ब रुपैयाँ र प्राधिकरणका आयोजनाको उत्पादन घट्दा भारतबाट बढी विद्युत आयात गर्नुपर्दा थप एक अर्ब रुपैयाँ नाफा घटेको शाक्यको तर्क छ।

शाक्यले घटेको नाफामध्ये ६ अर्ब रुपैयाँको कारणहरु खुलाए पनि बाँकी साढे २ अर्बको भने खुलाउन सकेनन्। प्राधिकरणले मर्मत सम्भार सञ्चालन खर्चमा दुई अर्ब रुपैयाँ जोगाएको दावी शाक्यले गरे। तर प्राधिकरणको तथ्याङ्कमा भने कतै पनि सञ्चालन खर्च घटेको देखिँदैन।

चुहावट बढेको, नाफा घटेको तथा लोडसेडिङ नभनिए पनि बिजुली जाने क्रम बढेको सन्दर्भमा सरकार परिवर्तन लगत्तै शाक्यको ठाउँमा घिसिङलाई ल्याउनु पर्ने बहस चलिरहेको छ। यसै सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जा मन्त्री पम्फा भुसालले शाक्यलाई डाकेर कार्यकारी निर्देशकबाट राजीनामा दिन दबाब दिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !